२०८१ पुस २२ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि प्रस्ताव बुझाउने समय ७ दिन थपेका छ । गत पुस ५ गते प्रस्ताव आह्वान गरेको बैंकले प्रस्ताव बुझाउने समय २९ गतेसम्मलाई थपेको हो।
नेपालका १० ठूला वाणिज्य बैंकहरुको विदेशी कन्सल्टेन्सीमार्फत लेखापरीक्षण गर्न योजनाअनुरुप राष्ट्र बैंकले दोस्रो पटक पुस ५ गते प्रस्ताव आह्वान गरेको थियो। राष्ट्र बैंकले यसअघि लेखापरीक्षणका लागि ५ विदेशी अडिट कम्पनीहरु छनौट गरेकोमा त्यसमा प्राविधिकतर्फ भारतको केपीएमजी अडिट कम्पनी मात्रै आर्थिक प्रस्तावका लागि छनोट भएको थियो।
तर केपीएमजीले लागत अनुमान र उपलब्ध बजेटभन्दा बढी लागतसहित प्रस्ताव गरेपछि राष्ट्र बैंकले सम्पूर्ण प्रस्ताव नै रद्द गरेको थियो।बैंकले भदौ ८ गते सार्वजनिक खरिद ऐन २०६३ को दफा ३६ उपदफा (१) (ख) बमोजिम लागत अनुमान र उपलब्ध बजेटभन्दा छनोट भएको प्रस्तावदाताको लागत सारभूतरूपमा बढी भएको भन्दै केपीएमजीको प्रस्ताव पनि रद्द गरेपछि सम्पूर्ण प्रक्रिया नै खारेज भएको थियो। सो प्रक्रिया खारेजीपछि राष्ट्र बैंकले दोस्रो पटक पुस ५ गते सूचना जारी गर्दै प्रस्ताव आह्वान गरेको थियो।

नेपाली बैंकहरूको ऋण लगानी प्रति अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंक जस्ता दातृ निकायले प्रश्न उठाउँदै आएका छन्। यसकारण कर्जा लगानी गर्दा बैंकहरूले लिएको धितोको मूल्यांकन गर्ने, कर्जा भुक्तानीकै लागि कर्जा लिने परिपाटी भए/नभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ र कर्जा केन्द्रीकृत भए/नभएको परीक्षण हुन लागेको हो ।
प्रतिक्रिया