२०८३ असोज ०७ गते
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सुरक्षाकर्मीको योगदानको सम्मान गर्दै उनीहरूलाई जलविद्युत आयोजनाको स्वामित्वमा सहभागी गराउने नीतिगत निर्णय गरिएको जानकारी दिए । कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच खोज तथा उद्धारमा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गरे ।
भोटेकोशी विपत्तिका क्रममा मन्त्रालयअन्तर्गतका निकाय, नेपाल विद्युत प्राधिकरण, सिंचाइ विभाग तथा जल तथा मौसम विज्ञान विभागका कर्मचारीले गरेको समन्वय र उद्धार प्रयासको समेत उनले प्रशंसा गरे । विपद्बाट भएको क्षतिले भविष्यका लागि पाठ सिकाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आगामी जलविद्युत आयोजना निर्माणमा विपद् प्रतिरोधी प्रविधि र संरचनालाई प्राथमिकता दिन निर्देशन दिइएको बताए । यसैबीच, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा पुनः भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उनले विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायत हालै बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया