२०८३ असोज ०४ गते
काठमाडौं । भृकुटीमण्डपमा जारी घरजग्गा एक्स्पोमा नेपालको रंग बजारमा अग्रणी स्थान बनाएको एशियन पेन्ट्स नेपालको स्टलमा आगन्तुकको आकर्षण बढेको छ । घर निर्माण, रंगरोगन तथा इन्टेरियरसँग सम्बन्धित जानकारी लिन एक्स्पोमा पुगेका उपभोक्ताको चासो एशियन पेन्ट्सको स्टलमा देखिएको हो ।
घर बनाउने तयारीमा रहेका ग्राहकदेखि आफ्नो घरको रंग, डिजाइन तथा लुक परिवर्तन गर्न चाहनेसम्मका उपभोक्ताले स्टलमा पुगेर एशियन पेन्ट्सका विभिन्न उत्पादन, रंग र त्यसका विशेषताबारे जानकारी लिइरहेका छन् । विशेषगरी रंगको छनोटसँगै त्यसको गुणस्तर र प्रयोगपछि देखिने प्रभावबारे प्रत्यक्ष बुझ्न सकिने व्यवस्था स्टलमा गरिएको छ ।
एशियन पेन्ट्सले ग्राहकलाई उत्पादनबारे केवल जानकारी दिने मात्र नभई रंगलाई प्रत्यक्ष छोएर र अनुभव गरेर बुझ्न सक्ने वातावरणसमेत तयार गरेको छ । स्टलको एक कुनामा विभिन्न रंग तथा भित्ताको नमुना राखिएको छ । यसले ग्राहकलाई आफूले रोजेको रंग भित्तामा कस्तो देखिन्छ भन्ने कुरा प्रत्यक्ष रूपमा अनुभूति गर्न सहज बनाएको छ ।
त्यस्तै, कम्पनीले आफ्ना रंगमा रहेको वाटरप्रुफिङ विशेषताबारे ग्राहकलाई प्रत्यक्ष जानकारी दिन स्टलमै परीक्षण गर्न सकिने व्यवस्था गरेको छ । रंगको नमुना छोएर, हेरेर तथा परीक्षण गरेर त्यसको विशेषता बुझ्न सकिने भएपछि स्टलमा पुग्ने ग्राहकका लागि एक्स्पोको भ्रमण थप अनुभवमूलक बनेको छ ।
एशियन पेन्ट्सको स्टलमा प्रत्यक्ष रूपमा रंग बिक्री गर्ने व्यवस्था भने गरिएको छैन । कम्पनीका प्रतिनिधिका अनुसार एक्स्पोमा स्टल राख्नुको मुख्य उद्देश्य तत्काल बिक्री गर्नुभन्दा ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्नु, उत्पादनका विशेषताबारे जानकारी दिनु र बजारमा एशियन पेन्ट्सको ब्रान्ड उपस्थितिलाई थप बलियो बनाउनु हो ।
घर निर्माण वा पुनर्निर्माणको तयारी गरिरहेका उपभोक्ताका लागि रंगको छनोट महत्वपूर्ण विषय बन्ने भएकाले एक्स्पोमार्फत ग्राहकलाई आफ्ना उत्पादनबारे नजिकबाट जानकारी गराउने अवसर मिलेको कम्पनीको भनाइ छ । एउटै स्थानमा घरजग्गा, निर्माण सामग्री, इन्टेरियर तथा घर सजावटसँग सम्बन्धित विभिन्न कम्पनी तथा उत्पादन उपलब्ध भएकाले पनि एशियन पेन्ट्सको स्टलमा ग्राहकको चासो देखिएको छ ।
देशभर डिलर नेटवर्क
एशियन पेन्ट्सको नेपालभर विस्तृत डिलर नेटवर्क रहेको छ । एक्स्पोमा प्रत्यक्ष बिक्री नभए पनि ग्राहकले एक्स्पोबाट उत्पादन तथा त्यसका विशेषताबारे जानकारी लिएर आफ्नो नजिकको आधिकारिक डिलरमार्फत आवश्यक रंग खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
सन् १९८३ मा स्थापना भएको एशियन पेन्ट्स नेपालले मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा उत्पादन प्लान्ट सञ्चालन गर्दै आएको छ । कम्पनीसँग वार्षिक १ लाख १ हजार ८ सय मेट्रिक टन उत्पादन क्षमता रहेको छ । कम्पनीले ४४ भन्दा बढी ब्रान्डका विभिन्न प्रकारका रंग उत्पादन गर्दै आएको छ ।
घरको बाहिरी भागदेखि भित्री सजावटसम्मका विभिन्न आवश्यकताअनुसार रंगका विकल्प उपलब्ध गराउँदै आएको एशियन पेन्ट्सले उपभोक्ताको बदलिँदो रुचि र घर सजावटको शैलीलाई समेत ध्यानमा राख्दै आफ्ना उत्पादन विस्तार गर्दै आएको छ । कम्पनीले सन् २०२२ देखि बाथरुम फिटिङ्सको एसेम्बलीसमेत सुरु गरेको छ ।
प्रतिक्रिया