लघुवित्तको कर्जा ५ खर्ब ३४ अर्ब, निष्क्रिय कर्जा मात्रै ५२ अर्ब

२०८३ असोज ०७ गते

लघुवित्तको कर्जा ५ खर्ब ३४ अर्ब, निष्क्रिय कर्जा मात्रै ५२ अर्ब

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ५ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको आषाढ २०८३ सम्मको लघुवित्त वित्तीय संस्थाको प्रगति प्रतिवेदन अनुसार लघुवित्त संस्थाहरूको कुल बक्यौता कर्जा ५ खर्ब ३३ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो । प्रतिवेदनअनुसार लघुवित्त संस्थाहरूले हालसम्म कुल ३४ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा वितरण गरेका छन् । त्यसमध्ये २८ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी कर्जाको साँवा असुली भएको छ । असुलीपछि बाँकी रहेको कर्जा ५ खर्ब ३३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

 

Advertisement:

Ad


५२ अर्बभन्दा बढी कर्जा निष्क्रिय

लघुवित्त क्षेत्रमा कर्जा असुलीको चुनौती भने अझै ठूलो देखिएको छ । प्रतिवेदनअनुसार निष्क्रिय कर्जा  ५२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । निष्क्रिय कर्जासँग सम्बन्धित ऋणीको संख्या पनि करिब ४ लाख ४३ हजार रहेको छ । त्यस्तै, भाखा नाघेको कर्जा रकम ५७ अर्ब २९ करोड रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ । भाखा नाघेको ऋणीको संख्या करिब ६ लाख ५९ हजार रहेको छ । लघुवित्त संस्थाहरूले कर्जा नोक्सानी व्यवस्थाबापत करिब ३७ अर्ब १९ करोड रुपैयाँ छुट्याएका छन् । कर्जाको ब्याज असुली भने २४ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।


६५ लाखभन्दा बढी सदस्य
लघुवित्त संस्थाहरूको पहुँच पनि व्यापक देखिएको छ । आषाढ मसान्तसम्म कुल ६५ लाख २९ हजार ६८८ सदस्य लघुवित्त संस्थासँग जोडिएका छन् । त्यसमध्ये महिला सदस्यको संख्या मात्रै ६२ लाख २८ हजारभन्दा बढी छ । कुल ऋणीको संख्या भने २७ लाख १२ हजार ७३९ रहेको छ । यसमध्ये महिलाको संख्या करिब २५ लाख ९३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । यसले लघुवित्त क्षेत्रमा महिलाको सहभागिता अत्यधिक रहेको देखाउँछ । तर सदस्यको ठूलो संख्या हुँदाहुँदै पनि निष्क्रिय कर्जा र भाखा नाघेको कर्जाको बढ्दो रकमले कर्जा गुणस्तरमा चुनौती रहेको संकेत गरेको छ ।


लघु व्यवसायमा साढे २ खर्बभन्दा बढी कर्जा

लघुवित्त संस्थाहरूले सबैभन्दा धेरै कर्जा लघु व्यवसायतर्फ प्रवाह गरेका छन् । प्रतिवेदनअनुसार लघु व्यवसाय कर्जाको कुल वितरण २५ खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै, लघु उद्यम तथा धितो कर्जातर्फ करिब ३१ अर्ब ८२ करोड रुपैयाँ कर्जा वितरण भएको छ । अन्य शीर्षकमा समेत कर्जा प्रवाह भएको प्रतिवेदनले देखाएको छ ।

 

बचत २ खर्ब ३१ अर्ब

लघुवित्त संस्थामा बचत गर्ने सदस्यको संख्या ६४ लाख २३ हजारभन्दा बढी पुगेको छ । उनीहरूले जम्मा गरेको कुल बचत २ खर्ब ३१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये अनिवार्य बचत ७० अर्ब ४६ करोड, स्वेच्छिक बचत १ खर्ब १४ अर्ब ३५ करोड र अन्य बचत ४२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार लघुवित्त क्षेत्रको कुल बचत र कुल कर्जाको अनुपात ४३.४३ प्रतिशत रहेको छ ।


२१ हजारभन्दा बढी कर्मचारी, करिब ५ हजार शाखा

आषाढ २०८३ सम्म लघुवित्त वित्तीय संस्थाहरूले ७७ वटै जिल्लामा सेवा विस्तार गरेका छन् । देशभर लघुवित्त संस्थाका ४ हजार ९४९ शाखा सञ्चालनमा छन् भने कर्मचारी संख्या २१ हजार ७९२ पुगेको छ । त्यस्तै, लघुवित्त संस्थामार्फत करिब ४ लाख ९० हजार केन्द्र र १५ लाख ४३ हजारभन्दा बढी समूह सञ्चालनमा रहेको प्रतिवेदनले देखाएको छ । लघुवित्तले ६५ लाखभन्दा बढी सदस्यलाई वित्तीय प्रणालीमा जोड्दै ठूलो पहुँच विस्तार गरे पनि ५२ अर्बभन्दा बढी निष्क्रिय कर्जा र ५७ अर्बभन्दा बढी भाखा नाघेको कर्जाले यस क्षेत्रको कर्जा गुणस्तर र असुली व्यवस्थापनमा चुनौती देखाएको छ।