२०८३ असोज ०७ गते
काठमाडौँ। नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली भई डिप डिप्रेसन मा परिणत भएर उत्तर/पश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक(दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशमा धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा अन्य क्षेत्रमा अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। हिमाली भू(भागमा उक्त मौसम प्रणालीका कारण हिमाली क्षेत्रहरूमा भारीसम्म हिमपात हुन सक्ने सम्भावना छ।
वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको उच्च जोखिम रहेको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम हुनुका साथै ठूला तथा साना नदी(नालाहरूमा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात र नदी आसपासका निर्माण कार्यहरू प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सबै सरोकारवाला निकायहरूलाई पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै, पर्वतारोहीहरूलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ।
धानबाली भित्र्याउने मौसम परेकाले कृषकहरूलाई पाकेको धान काट्नुअघि सम्बन्धित कृषि विज्ञको सल्लाह लिनसमेत मौसम पूर्वानुमान महाशाखाले विशेष आग्रह गरेको छ।
प्रतिक्रिया