गभर्नरको फेरी नयाँ चर्चा, अर्थविद् विश्व पौडेललाई अघि सार्यो कांग्रेसले

२०८२ वैशाख २८ गते

गभर्नरको फेरी नयाँ चर्चा, अर्थविद् विश्व पौडेललाई अघि सार्यो कांग्रेसले

काठमाडौँ । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पद करिब १ महिनादेखि खाली छ । आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीका बीच सरकारी ढुकुटी अर्थात राष्ट्र बैंक नेतृत्वबिहिन हुनुलाई गठबन्धन सरकारको अक्षमताको पराकाष्ठाको संज्ञा दिइन थालिएको छ । चाँडो भन्दा चाँडो गभर्नर नियुक्ती गर्नुपर्ने चर्को दवाब झेलिरहेको सरकार दिनहुँ जसो यही मुद्दामा केन्द्रित भएर बैठक बस्दै आएको छ यद्यपि निचोड निस्किन सकेको छैन । दिनहुँ घटनापरिघटना यसरी विकसित भइरहेका छन् कि पूर्वअनुमान गरिएका गभर्नरका उम्मेदवार साइड लाग्ने अवस्था सृजना हुँदा गठबन्धन सरकारलाई गभर्नर छान्न सकस भएको प्रष्ट भएको छ । सरकारी नियुक्तीमा भागबण्डाको खेल खेलिरहेको गठबन्धन सरकारमा राष्ट्र बैंकको गभर्नर नियुक्ती कांग्रेसको चाहना बमोजिम हुने भएको छ । 

 

Advertisement:

Ad
Ad

यसैबीच शुक्रबारबाट कांग्रेसले गभर्नर सिफारिस समितिका सदस्य एवं अर्थविद् डा.विश्व पौडेललाई भावी गभर्नरका लागि अघि सारेको छ । पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थमन्त्रीका आर्थिक सल्लाहकार भइसकेका व्यक्ति हुन् । २०७९ सालको चुनावमा कांग्रेस नेतृ आरजु राणा देउवाको बलियो समर्थनमा चितवनबाट सांसदमा उठेका थिए। तर उनले चुनाव जित्न सकेनन् । हाल उनी काठमाडौँ विश्वविद्यालयमा अध्यापनरत छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले  यसअघि अगाडि सारेका उम्मेदवार राष्ट्र बैंकका बैंकिङ सुपरीवेक्षण विभागका निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्विकृत नभएपछि पौडेललाई कांग्रेसले अघि सारेको हो । देउवाबाट गभर्नर बन्ने ढाडस पाएर राजीनामा दिएका भट्टको गभर्नर पदकै अर्की आकांक्षी हालकी कामु गभर्नर निलम ढुंगानाले राजीनामा स्विकृत नगरेपछि भट्टको गभर्नर बन्ने सम्भावना क्षिण भएको हो । 

 

गभर्नर नियुक्तीमा आफ्नो दाबेदारी गरिरहेको कांग्रेसले भट्ट नहुने भएपछि कांग्रेस भित्रबाटै विश्व पौडेलको नाम सुझाएको हो । पौडेल अहिले बनेको गभर्नर सिफारिस समितिका सदस्य पनि हुन् । पौडेललाई गभर्नर बनाइने हो भने उनले यो समितिबाट राजीनामा दिनपर्ने हुन्छ । यो समाचार तयार पार्दा सम्म भने उनले राजीनामा दिएका छैनन् । अर्थतन्त्रमा गहिरो दख्खल राख्ने पौडेललाई कांग्रेसका अधिकांश नेताहरुले समर्थन गरेको कांग्रेसकै एक नेताले नाम नबताउने शर्तमा वाणिज्यपोष्टलाई जानकारी गराए । प्रधानमन्त्री कन्भिन्स् भए सम्भवतः छिट्टै नै मन्त्रीपरिषद् बैठक बसेर पौडेललाई गभर्नरका लागि टुंगो लगाउने योजना छ । 

 

त्यसो त गभर्नर नियुक्तीको अन्यौलता र अनिश्चितताले यही व्यक्ति नै गभर्नर हुन्छ भन्ने ठोकुवा गर्ने अवस्था छैन । किनकि गठबन्धन र भागबण्डामा चलेको सरकारका मूख्य दुई दल एमाले कांग्रेस र तिनलाई चलाउने अदृश्य शक्ति समूहको पनि गभर्नरको उम्मेदवारमा स्वार्थ बरकरार छ ।रात रहे अग्राख पलाउँछ भनेजस्तै एक रातमै नयाँ घटना विकसित बनेर अहिलेसम्म चर्चामा नरहेका व्यक्ति सम्भावित उम्मेदवारका रुपमा नआउलान् भन्न सकिँदैन ।