सरकारले यसरी जुटाउँदैछ कर्मचारीलाई दिने तलब तथा भत्ता, महंगी भत्ताका लागि मात्र पौने ११ अर्ब बढी भार थपियो

२०८२ जेठ १८ गते

सरकारले यसरी जुटाउँदैछ कर्मचारीलाई दिने तलब तथा भत्ता, महंगी भत्ताका लागि मात्र पौने ११ अर्ब बढी भार थपियो

काठमाडौ । आफ्ना कर्मचारीलाई तलब तथा भत्ता खुवाउँन  पनि स्रोतको दबावमा पर्ने सरकारले आगामी आर्थिक वर्ष  (२०८२/०८३) आफ्ना कर्मचारीलाई खुवाउँने तलब तथा भत्ताको लिस्ट सार्वजनिक गरेको छ । 

सरकारी कर्मचारी र विभिन्न पदाधिकारीलाई दिइने तलब तथा विभिन्न शिर्षकको भत्ता जुट्ने स्रोत अर्थमन्त्रालयले बजेटमा स्पष्ट पारेको छ । सरकारी कर्मचारी तथा विभिन्न पदाधिकारीको तलब तथा भत्ताका लागि सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा १ खर्ब ७६ अर्ब ६३ लाख रुपैयाँ छुट्याएको छ  । 

Advertisement:

Ad
Ad

आर्थिक वर्ष २०८०/८१ म १ खर्ब ५२ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ कर्मचारीको पारिश्रमीक र सुविधामा खर्च भएको थियो  । तर चालु आर्थिक वर्ष २०८१/०८२ मा १ खर्ब ५४ अर्ब ६८ करोड ५५ लाख खर्च हुने अनुमान छ भने आगामी वर्ष यो दायित्व झनै बढेर १ खर्ब ७६ अर्ब बढी खर्च गर्ने लक्ष्य सरकारको छ ।  आगामी आवमा कर्मचारीको परिश्रमीकका लागि मात्र १ खर्ब २७ अर्ब ५३ करोड १३ लाख रुपैयाँ छुट्याएको छ । संवैधानिक निकायका विभिन्न पदाधिकारीका लागि २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ तलब छुट्याएको छ । 

यस्तै सरकारी कर्मचारीको पोशाकका लागि ४ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ, खाद्यान्नका लागि १७ अर्ब ४३ करोड ५२ लाख रुपैयाँ,औषधी उपचार खर्च २ अर्ब ३९ करोड ९१ लख रुपैयाँ छुट्याएको छ । यस्तै स्थानीय भत्ता १ अर्ब २० करोड ८५ लाख रुपैयाँ छुट्याएको सरकारलाई १७ अर्ब १ करोड बढी महंगी भत्ताको भार थपिएको छ । सरकारले आगामी आवको बजेटमार्फत कर्मचारीको महंगी भत्ता बढाएर ५ हजार पुर्याएको छ । 
अघिल्लो वर्ष (२०८०/८१) सरकारले महंगी भत्तामा ५ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ खर्च गरेको थियो भने चालु आवमा (२०८१/०८२) मा ६ अर्ब १७ करोड ९ लाख रुपैयाँ खर्च हुने संसोधित अनुमान छ । तर सरकारले महंगी भत्ता बढाइदिएपछि राज्यलाई १० अर्ब ८४ करोड ६ लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ । फिल्ड भत्ता १ करोड ५३ लाख, कर्मचारीको बैठक भत्ता २५ करोड ३३ लाख, कर्मचारीलाई प्रोत्साहन र पुरस्कार दिन ५४ करोड ४ लाख रुपैयाँ छुट्याएको छ ।  यस्तै कर्मचारीलाई विदेश भ्रमणमा जादा दिइने भत्ताको लागि १ अर्ब २ करोड ४३ लाख रुपैयाँ र अन्यभत्ता १ अर्ब ८१ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन सरकारले  गरेको छ । 

कर्मचारीको सामाजिक सुरक्षाको लागि तीन अर्ब २६ करोड ८२ लाख रुपैयाँ छुट्याएको सरकारले कर्मचारीलाई पानी तथा विजुली र सञ्चार खर्च मात्र ४ अर्ब ५२ करोड ७६ लाख रुपैयाँ छुट्याएको छ । 


कर्मचारी र विशिष्ट व्यक्तिको भ्रमण खर्चलाई करिब साढे ३ अर्ब
सरकारले बजेटमै सरकारी कर्मचारी र विशिष्ट व्यक्तिलाई भ्रमणका लागि ३ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ बजेट राखेको छ ।
सरकारका कर्मचारी र विशिष्ट व्यक्ति तथा कर्मचारीले भ्रमण गर्दा हुने खर्च पनि बर्षेनी बढ्दो देखिन्छ । अघिल्लो आर्थिक बर्ष (२०८०/०८१) यस शिर्षकमा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खर्च भएको थियो । चालु वर्ष (२०८१/०८२) ३ अर्ब २६ करोड १३ लाख रुपैयाँ खर्च हुने संसोधित अनुमान छ । 

तर आगामी बर्ष भने यस्तो खर्च बढेर ३ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ पुग्ने भन्दै सरकारले उक्त रकम बजेटमा राखेको छ । सरकारले यी खर्चहरु राजस्वबाट हुने आम्दानी र  वैदेशिक सहयोगबाट जुटाउँने बताएको छ । यद्यपि आन्तरिक ऋण भने यस्ता खर्चहरुमा प्रयोग नगरिने अर्थमन्त्रालयले भनेको छ । यता कर्मचारीको तालिम, सिप विकास, जनचेतान गोष्ठी तथा सेमनिारका लगायत विभिन्न कार्यक्रमका लागि १८ अर्ब ३९ करोड ८० लाख रुपैयाँ छुट्याएको छ ।  यो खर्च पनि बढ्दो क्रममै देखिएको छ । 
सरकारले राजस्वबाट आगामी बर्ष १३ खर्ब १५ अर्ब रुपैयाँ उठाउँने लक्ष्य लिएको छ भने वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड र वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब उठाउँने लक्ष्य लिएको छ । यिनै स्रोतहरुबाट सरकारले यस्ता खर्चहरु जोहो गर्नुपर्ने हुन्छ ।