२०८३ जेठ ०१ गते
प्रकाशकीय
समयको प्रवाहसँगै यात्राहरू केवल वर्षको गणनामा मात्र सीमित हुँदैनन् । तिनले अनुभूति, विश्वास र जिम्मेवारीका नयाँ आयामहरू पनि निर्माण गर्दै जान्छन् । यिनै अनुभूति र संकल्पका साथ वाणिज्यपोष्ट डटकम तेस्रो वर्षको यात्रा पार गर्न सफल भएको छ । विभिन्न आरोह अवरोह पार गर्दै वाणिज्यपोष्ट अब चौथो वर्षको उदीयमान क्षितिजतर्फ अगाडी बढीसकेको छ ।
आर्थिक पत्रकारिताको विशिष्ट बाटो रोजेको वाणिज्यपोष्टले शुरुवात देखि नै बैंकिङ, बीमा, उद्योग–वाणिज्य, पूँजी बजार र समग्र अर्थतन्त्रका बहुआयामिक पक्षहरूलाई तथ्य, तर्क र संवेदनशीलताको संयोजनमा आम पाठकमाझ प्रस्तुत गर्ने प्रयास गर्दै आएको छ । जटिल आर्थिक विषयहरूलाई सकेसम्म सरल तर गहिरो अर्थमा उजागर गर्ने हाम्रो अभियान केवल समाचार प्रवाह मात्र होइन, चेतनाको विस्तार गर्नु पनि हो ।
विगत तीन वर्षको यात्रामा हामीले अर्थतन्त्रका अनेक तहहरूमा लुकेका कथा, चुनौती र सम्भावनाहरूलाई उजागर गर्ने प्रयास गर्यौँ । ती प्रयासहरु कतिले सार्थकता पाए, कतिले पाएनन् समयसँगै समिक्षा हुँदै जानेछ । नीतिगत उतारचढावदेखि बजारको मनोविज्ञानसम्म, उद्योग व्यवसायका संघर्षदेखि अवसरका उज्याला पाटाहरुसम्म र बैंकिङ क्षेत्रमा देखिएका नीतिगत परिवर्तन, बीमा विस्तारका प्रयास, उद्योग व्यवसायमा देखिएका उतारचढाव तथा बजारको प्रवृत्तिबारे तथ्यमा आधारित सामग्री प्रकाशन गर्दै हामीले आम पाठक, नीति निर्माता र सरोकारवालाबीच सशक्त संवादको पुल बन्ने प्रयास गर्दै आएका छौँ ।
यस यात्रामा हामी एक्लै छैनौँ । हाम्रो यात्रामा जोडिएका पाठक, शुभेच्छुक, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका सहयोगीहरूको साथ, विश्वास र प्रोत्साहन नै हामी टिक्ने सबल आधार हो । हाम्रा आदरणीय पाठकहरूको विश्वास, शुभेच्छुकहरूको प्रेरणा र विज्ञापनदाताहरूको अमूल्य साथकै कारण आज हामी चौथो वर्षमा प्रवेश गरेको खबर सुनाउन सक्षम भएका छौ । यस्तै साथ र सहयोगले आगामी कैयौ वर्ष प्रवेश सगौरवपूर्ण सुनाउँन पाउँने विश्वास पनि लिएका छौँ ।
विशेषतः विज्ञापनदाताहरूले देखाएको भरोसा र सहकार्यले हाम्रो प्रयासलाई दिगोपन र उर्जा प्रदान गरेको छ । यस गौरवपूर्ण अवसरमा सम्पूर्ण विज्ञापनदाता, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
चौथो वर्षको यात्रामा निस्कदा हाम्रो संकल्प अझ प्रष्ट भएको छ, अझ परिष्कृत, अनुसन्धानमुखी र समयसापेक्ष आर्थिक पत्रकारितामार्फत सत्य र तथ्यको उजागर गर्ने । बदलिँदो आर्थिक परिदृश्यमा विश्वसनीयताको दीप प्रज्वलित गर्दै पाठकको विश्वासलाई अझ प्रगाढ बनाउनु नै हाम्रो संकल्प हो । आगामी यात्रामा पनि यहाँहरूको अमूल्य साथ, सुझाव र विश्वासको भोका रहनेछौ । यहाँहरुको साथ र सहयोगले निरन्तरता पाउने अपेक्षा पनि गरेका छौं ।
वाणिज्यपोष्ट परिवार
प्रतिक्रिया