२०८३ वैशाख ३१ गते
हरेक दिन काठमाडौँको आकाशबाट उड्ने विमानहरूले मान्छे मात्र होइन, सयौँ सपनाहरू पनि बोकेर उँडेको हुन्छ । ती विमानहरूमा बस्नेहरू केवल यात्रु होइनन् एउटा राम्रो भविष्यको खोजीमा आफ्नो घर, परिवार र पहिचानलाई केही समयका लागि पछाडि छोडेका श्रमिक हुन्। ती सपनाहरू प्रायः खाडीका तातो मरुभूमि र चम्किला सहरहरूमा अवतरण गर्छन्।
तीनै श्रमिकहरुले विदेशबाट पठाउने रेमिट्यान्स आज नेपालको अर्थतन्त्रको जीवनरेखा बनेको छ। गाउँका नयाँ घरहरू, सहरका निजी विद्यालय, बजारका आयातित सामग्री यी सबैमा रेमिट्यान्सको छाप देखिन्छ। नेपालमा आउने पैसाको प्रवाहसँगै श्रमिकले विदेशी भूमिमा बगाएका पसिना,संघर्ष र त्यागको निरन्तरता हो । यो निरन्तरतासँगै यतिखेर एउटा गहिरो प्रश्न पनि जन्मिएको छ, परदेशबाट पठाइएको रेमिट्यान्सले मुलुक आखिर कति समय टिकिरहन सक्छ ?
नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जहाँ रेमिट्यान्सले अर्थतन्त्रको मेरुदण्ड समातेको छ। कुल गार्हस्थ उत्पादनको ठूलो अंश विदेशमा पसिना बगाएर कमाएको आम्दानीबाट आउँछ। यसले विदेशी मुद्रा सञ्चिति जोगाएको छ, आयातलाई सम्भव बनाएको छ र आर्थिक अस्थिरताबीच एक किसिमको सुरक्षा कवचको काम गरेको छ। यसको आधार बाह्य बजार विशेषतः खाडी मुलुकहरूमा काम गरिरहेका लाखौँ नेपाली श्रमिक हुन् ।
साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सजस्ता देशहरूले नेपाली श्रमिकलाई अवसर दिएका छन्। तर यही अवसरसँगै नेपालको निर्भरता पनि गाँसिएको छ। नेपालको आर्थिक स्वास्थ्य तेलको मूल्य, क्षेत्रीय राजनीति र विदेशी श्रम नीतिजस्ता अनिश्चित कारकहरूसँग जोडिएको छ।
यदि ती देशहरूमा आर्थिक मन्दी आयो भने यसको असर सिधै नेपाली भान्सासम्म पुग्छ। क्थम्कदाचित ती मुलुकहरुमा कुनै ठूलो संकट आइपरे लाखौँ कामदार एकैपटक स्वदेश फर्किनुपर्ने अवस्था आउन सक्छ ।
रेमिट्यान्सको उज्यालो पक्ष जति चम्किलो देखिन्छ, त्यसको अँध्यारा पाटा पनि उत्तिकै रहेको जगजाहेर छ । धेरै युवा ऋणको भारी बोकेर विदेश जान्छन् प्रक्रिया महँगो छ, यात्रा कठिन छ। विदेश पुगेपछि उनीहरू लामो समयको खटाई, प्रतिकुल मौसम र सीमित अधिकारबीच आफ्नो भविष्य कोर्न बाध्य हुन्छन् । वर्षौँसम्म परिवारबाट टाढा रहँदा बालबालिका अभिभावकको स्नेह बिना हुर्किनुपर्ने अवस्था हुन्छ जसले सम्बन्धबीच दूरी बढाइरहेको र सामाजिक बिचलन पैदा गरिरहेको छ ।
स्वदेशमा सम्भावना नभएको हो त ?
नेपाल सम्भावनाहीन देश होइन। हिमालबाट झर्ने नदीहरूले जलविद्युत्को अथाह सम्भावना बोकेका छन्। प्राकृतिक सुन्दरताले पर्यटनको ढोका खोलेको छ। कृषि, जडीबुटी र सूचना प्रविधि सबै क्षेत्रमा अवसरहरू छन्।तर ती सम्भावनाहरू अझै पूर्ण रूपमा जागृत हुन सकेका छैनन्। राजनीतिक अस्थिरता, नीतिगत अन्योल र लगानीको अभावले प्रगतिको गति रोकिएको छ।
उपभोगमै सीमित रेमिट्यान्स
नेपालमा खरबौँ रेमिट्यान्स भित्रिए पनि त्यसले रोजगारी बढाउने आयआर्जन गराउने काममा प्रयोग हुन सकेको छैन । जवसम्म देशले रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा मोड्न सक्दैन,समृद्धिको सपना कोरा कल्पनामा मात्र सिमित हुन पुग्छ । प्राप्त रेमिट्यान्स साना तथा मझौला उद्योग, जलविद्युत् आयोजना, कृषि प्रशोधन, पर्यटन पूर्वाधार इत्यादिमा प्रयोग गर्न सकिए अर्थतन्त्रले गती लिने कुरामा दुईमत छैन । त्यसका लागि केवल पैसा होइन, दृष्टिकोण चाहिन्छ। नीतिगत स्थिरता, सुशासन र लगानीमैत्री वातावरण अपरिहार्य छन्। फर्किएका कामदारलाई उद्यमशीलतामा जोड्ने, शीप विकासलाई प्राथमिकता दिने र श्रम गन्तव्य मुलुकहरुको दायरा फराकिलो बनाउने कदम चाल्न सरकारले दु्रतरुपमा काम गर्नुपर्ने छ ।
रेमिट्यान्स आजको यथार्थ हो यसले देश धानेको छ, परिवार चलाएको छ, संकट टारेको छ। तर यसलाई दीर्घकालीन आधार मान्नु भनेको सम्भावनालाई सीमित गर्नु हो ।
प्रतिक्रिया