२०८२ जेठ २० गते
काठमाडौँ । देशको एक मात्र निजी तथा कम्पनीहरुको दर्ता तथा अभिलेख राख्ने कार्यालय कम्पनी रजिष्ट्रारको कार्यालय पूर्ण डिजिटलाइज्ड भएको छ । कम्पनी दर्तादेखि खारेजीसम्मका काम अनलाइनबाटै हुने भएपछि विगतमा बिचौलियाले प्रभाव जमाउने अड्डाको रुपमा परिचित यस कार्यालयमा अहिले सुशासनको अनुभव गर्न थालिएको छ । बिचौलियाले घेरिने यो कार्यालय अचेल भीडभाडरहित हुन पुगेको छ ।
२०८१ फागुन ११ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली 'क्यामिस' १ करोड लागतमा नेपालकै आइटी इन्जिनियरहरुद्वारा निर्माण भएको सफ्टवेयर हो ।यो सफ्टवेयरले कुनै व्यक्ति कम्पनी रजिष्ट्रारको कार्यालयमा नपुगी दर्तादेखि खारेजीसम्मको प्रकृयामा सहभागी हुन सक्छ । यसो हुँदा कार्यसम्पादनमा हुने ढिलासुस्ती, झन्झट र बिचौलियाबाट मुक्ती मिल्ने अपेक्षा गरिएको छ । कार्यालयकै एक अधिकारीका अनुसार यो प्रणाली लागू गर्न कार्यालय भित्रकै कर्मचारीहरु तयार नभएको र लामो प्रयासपछि बल्ल लागू गरिएको हो । बिचौलियासँगको उठबस भएका कतिपय कर्मचारीनै यो प्रणाली भित्रुयाउन तयार नभएको उनको तर्क छ ।
'क्यामिस'लागू भएपछि सेवाग्राहीको सम्पूर्ण विवरणहरु पारदर्शी र पूर्ण अद्यावधिक गरिएको छ । साथै सेवाग्राहीको रोलक्रम अनुसार दर्ता प्रकृया नियमसंगत हुँदै जाने हुँदा पालो नमिचिइने कार्यालयले जनाएको छ । कम्पनी प्रशासनसम्बन्धी सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउनका लागि सुरू गरिएको यो प्रणालीले अब निजी क्षेत्रको उद्योग, व्यापार र व्यवसायमा लगानी प्रवर्धन गर्न सघाउने सरकारको विश्वास छ।
नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एकै तहबाट टुंग्याइने व्यवस्था गरिएको छ। शेयरधनी वा सञ्चालकको शारीरिक उपस्थिति आवश्यक पर्ने केही आवेदन बाहेक, अन्य सबै प्रक्रिया डिजिटल हस्ताक्षरसहित अनलाइन प्रणालीमार्फत नै टुंग्याइनेछ। साथै, आवेदन पेस भएपछि त्यसको स्थितिबारे जानकारी पनि सम्बन्धित कम्पनीलाई अनलाइनमार्फतै दिइने छ।
क्यामिस प्रणालीमा पुरानो प्रणालीबाट प्राप्त सबै निवेदन र कागजातहरू पनि हेर्न मिल्ने व्यवस्था गरिएको छ। यस प्रणालीले राष्ट्रिय परिचयपत्र प्रणाली, आन्तरिक राजस्व विभागको कर प्रणाली, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था लगायत अन्य सरकारी निकायका प्रणालीहरूसँग आपसी अन्तरसंयोजनको व्यवस्था गर्दै लगिएको छ।
हालसम्म देशभर ३ लाख ६० हजार २१३ कम्पनीहरू दर्ता भइसकेका छन्। तीमध्ये २ हजार ३१४ सार्वजनिक कम्पनी, ३ लाख ४७ हजार २२९ निजी कम्पनी, ४ हजार ५११ विदेशी लगानी भएका कम्पनी तथा ६ हजार १५९ मुनाफा वितरण नगर्ने कम्पनी रहेका छन्।
प्रतिक्रिया