२०८३ असार ०८ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट संकलन हुँदै आएको उपभोक्ता मूल्य सुचकांक (सिपिआइ) को तथ्यांक अब राष्टिय तथ्यांक कार्यालयबाटै हुने भएको छ ।
कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष गुणाकर भट्टको अध्यक्षतामा बसेको बैठकले आजै सिपिआइको तथ्यांक संकलन गर्ने जिम्मा तथ्यांक कार्यालयलाई दिएको बताए । एक वर्ष संक्रमण कालको रुपमा यसको काम कार्यालयले केन्द्रिय बैंकको सहकार्यमा गर्नेछ भने एक वर्षपछि तथ्यांक कार्यालयले आफै आफ्नै ढंगले तथ्यांक र्संकलन गर्ने लक्ष्य लिएको छ ।
राष्ट्रिय तथ्यांक परिषद्को पाँचौँ बैठकको निर्णयअनुसार गठित संयुक्त कार्यदलले तयार पारेको मूल्यसम्बन्धी तथ्यांकीय कार्य हस्तान्तरण सम्बन्धी अध्ययन प्रतिवेदन परिषद्को असार ८ गते बसेको बैठकबाट स्वीकृत भएपछि हस्तान्तरण प्रक्रिया कार्यान्वयन चरणमा प्रवेश गरेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी कमल प्रसाद पोखरेलले बताए ।
हाल नेपाल राष्ट्र बैंकले प्रकाशन गर्दै आएको मासिक उपभोक्ता मूल्य सूचकांक (सीपीआई), थोक मूल्य सूचकांक (डब्लूआई) तथा तलब तथा ज्याला सूचकांक (एसडब्लूआई) निर्माणको सम्पूर्ण जिम्मेवारी चरणबद्ध रूपमा राष्ट्रिय तथ्यांक कार्यालयमा हस्तान्तरण हुने पोखरेलले बताए ।
प्रतिक्रिया