२०८३ कात्तिक १६ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत शुक्रबार सामान्य करेक्सन भएको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.९३ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। गत शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार ३४३ स्टकको १ करोड ९८ लाख २२ हजार कित्ता शेयर ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँमा खरिदबिक्री भएको छ। यस दिन बेनी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १३.५८ प्रतिशत बढेको छ। १३ प्रतिशत बोनस शेयर घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य पनि साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यता, सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब ५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंक र कुमारी बैंकको क्रमशः करिब २९ करोड ५० लाख र २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ। यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्। विकास बैंक उपसमूह सर्वाधिक १.८८ प्रतिशत घट्दा बैंकिङ, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढी घटेका छन्।
प्रतिक्रिया