२०८३ कात्तिक १८ गते
काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो दिन पनि सामान्य वृद्धि भएको बजारले यस दिन सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १.४० अंक बढेर २६६५.५३ विन्दुमा पुगेको छ। यद्यपि, सेन्सेटिभ इण्डेक्स भने २.६९ अंक घटेको छ।
नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छ। यस दिन ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार कित्ता शेयर ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका छन्। अघिल्लो दिन मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको शेयर किनबेच भएको थियो।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मन्त्रिपरिषद् बैठकले कम्पनीमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति दिने निर्णय गरेसँगै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ९२१ रुपैयाँ ७० पैसा पुगेको हो। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य साढे ११ प्रतिशत र श्वेत गंगा हाइड्रोपावरको साढे ८ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा श्वेत गंगा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार हुँदा घोराही सिमेन्टको ५१ करोड र हिमालयन रि इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये ४ वटाको परिसूचक बढेको छ भने ९ वटाको घटेको छ। अन्य उपसमूह सर्वाधिक ६.१८ प्रतिशत बढ्दा व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। जीवन बीमा र म्युचुअल फण्ड उपसमूहमा सामान्य सुधार देखिएको छ।
प्रतिक्रिया