२०८३ कात्तिक १८ गते
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले २०८३ कात्तिक १८ गते बुधबारदेखि बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखाको कारोबार सुरु गरेको हो।
बैंकको १९औँ वार्षिकोत्सवको अवसर पारेर शाखा विस्तार गरिएको हो। बैंकका अध्यक्ष दिलीपप्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाज्यूले शाखाको उद्घाटन गरेका थिए।
नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार शाखा विस्तारको उद्देश्य सर्वसाधारणको बैंकिङ सेवामा पहुँच बढाउनु, वित्तीय समावेशीकरणलाई सुदृढ बनाउनु तथा सहज र विश्वसनीय सेवा उपलब्ध गराउनु हो।
बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थिति बढाउने माध्यमका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
आईएसओ ९००१ः२०१५ तथा आईएसओ २७००१ः२०२२ मान्यता प्राप्त गरिमा विकास बैंकले सातै प्रदेशमा फैलिएका शाखामार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया