२०८३ कात्तिक १८ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको टक्सार महाशाखा बालुवाटारले कात्तिक १९ र २० गते दुई दिन सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकले कात्तिक १८ गते सूचना जारी गर्दै तिहारको अवसरमा सर्वसाधारणका लागि सुन तथा चाँदीका सिक्का बिक्री गर्ने जानकारी दिएको हो ।सूचनाअनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामको चाँदीको मेडालियन (लक्ष्मी र गणेश अंकित) एक थानका दरले बिक्री गरिनेछ। एक व्यक्तिले बढीमा दुई थानसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
यी असर्फी तथा मेडालियन कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। मौज्दात कायम रहेसम्म मात्र बिक्री जारी रहने सूचनामा उल्लेख छ। असर्फी तथा मेडालियन खरिद गर्न चाहने व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सम्बन्धित कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।
त्यस्तै, खरिदकर्ताले नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार सुनका असर्फी तथा चाँदीका मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण हुनेछ। मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुनेछ।
प्रतिक्रिया