२०८३ असार १० गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रवक्ता मनिष झाले महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन प्रक्रिया आज(वुधबार) राति सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् ।
बुधबार चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबारे जानकारी दिँदै उनले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भइसकेको र दाबी–विरोधका लागि दिइएको समय निर्वाचन आयोगले थप गरेको बताए।
उनले भने, ‘प्रारम्भिक सूची सार्वजनिक भइसकेको छ । सूचीमा ४ बजेसम्म दाबी–विरोधको समय दिइएको थियो । त्यो पर्याप्त नहोला कि भनेर निर्वाचन आयोगले ५ बजेसम्मको समय दिनुभएको छ । अहिलेसम्म केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी सूचीकृत गरिएको छ । साँझ ६ः३० बजे अन्तिम नामावली सार्वजनिक गर्ने, साँझ ७ः३० बजेसम्म मतदान प्रक्रिया सुरु गरिसक्ने तयारी छ । चार घण्टाभित्र मतदान सकिन्छ भन्ने आंकलन छ । निर्वाचन सम्पन्न भएको दुई घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्न सकिने तयारी छ ।’
झाका अनुसार मतदान प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन ७५ वटा मतदान केन्द्र (बुथ) तयार पारिँदै छन्। प्रत्येक प्रतिनिधिलाई मतदान गर्न ७ देखि १० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ ।
उनले भने, ‘अहिलेसम्म ४ हजार १ सय प्रतिनिधि सहभागी छन् । उद्घाटन सत्रपछि केही प्रतिनिधि फर्किनुभएको हुनसक्छ । प्रदेशगत तथा जिल्लास्तरका नेतृत्वलाई सकेसम्म प्रतिनिधिहरूलाई नजान आग्रह गरिरहेका छौँ। व्यवस्थापनमा केही त्रुटि र सिकाइ भएपनि कोही पनि निष्क्रिय छैनन्। सबै अहोरात्र खटिरहेका छन्। काम ढिलो भएको छ, काम नगरेर होइन, प्रक्रिया पूरा गर्न समय लागेर हो।’
निर्वाचनको गतिबारे जानकारी दिँदै उनले हरेक १० मिनेटमा करिब ७५० जनाले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको बताए ।
‘त्यही गतिमा मतदान सम्पन्न भयो भने राति १–२ बजेसम्म केन्द्रीय सदस्य निर्वाचनको प्रक्रिया टुंगो लागिसक्नेछ । त्यसपछि भोलि बिहान ९ बजेदेखि दोस्रो चरणको निर्वाचन सुरु गरेर दिउँसोसम्म सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने तयारी छ,’ उनले बताए ।
प्रतिक्रिया