भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैन : कृष्ण सिटौला

२०८२ जेठ ११ गते

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैन : कृष्ण सिटौला

काठमाडौं  नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु आवश्यक नभएको बताएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो विषयमा अध्यागमन कार्यालयका कर्मचारी माथी प्रश्न उठेकाले मन्त्रीले राजीनामा दिनु आवश्यक नभएको प्रष्ट पारे । उनले सो विषयमा कर्मचारी माथी प्रश्न उठेको छ गृहमन्त्री माथी होइन भन्दै मन्त्रालय मातहतका कर्मचारी माथी प्रश्न उठ्दैमा मन्त्रीहरूले राजीनामा दिँदै जाने हो भने सबै मन्त्रीले राजीनामा  दिनुपर्ने अवस्था आउने र राज्य व्यवस्था चल्न नसक्ने बताए। 

Advertisement:

Ad
Ad

यस अघि भएका घटनामा मन्त्री हरूमाथि प्रश्न उठेकाले उहाँहरूले राजीनामा दिएको प्रष्ट पार्दै अहिले गृहमन्त्री माथी नभई कर्मचारी माथी  प्रश्न उठेकाले गृहमन्त्रीले किन राजीनामा दिने भनि प्रति प्रश्न गरे । उनले यस विषयमा नेपाली कांग्रेसको धारणा पनि चाँडै आउने बताए।

एक प्रश्नमा उनले अहिले संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयन समीक्षा आवश्यक रहको बताए । नेता सिटौलाले संविधानले परिकल्पना गरे अनुसार जनताको पक्षमा काम भयो भएन पहिले त्यस विषयमा समीक्षा गरेर संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए । 

 उनले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प नभएकाले निरङ्कुश तानासाही व्यवस्था नेपाली जनतालाई स्वीकार्य नहुने बताए। लोकतन्त्रको मूल्य मान्यता अनुसार मुलुक धेरै अघि बढी सकेकाले  अव  राजतन्त्र फर्कने कुनै सम्भावना छैन उनले भने । उनले नेपाली कांग्रेसका महाधिवेशनमा एकवर्ष थप गर्न सकिने कानुनी व्यवस्था भएकाले महाधिवेशनको मिति एक वर्ष थपघट हुने प्रष्ट पारे।