२०८३ असार ०९ गते
काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण एक दिन लम्बिएको छ। सोमबार बिहानदेखि बन्दसत्रको प्रतीक्षामा रहेका प्रतिनिधिहरू दिनभर पर्खिए पनि बन्दसत्र सुरु हुन सकेन।
प्रतिनिधि रुजु, परिचयपत्र छपाइ तथा प्रतिनिधि सूची व्यवस्थापनमा समस्या देखिएपछि बन्दसत्र स्थगित गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार करिब ३० सांसदको नामसमेत प्रतिनिधि सूचीमा समावेश नभएको पाइयो।
महाधिवेशन एक दिन लम्बिँदा अतिरिक्त आर्थिक भार पर्ने भन्दै केही प्रतिनिधिले असन्तुष्टि जनाएका छन्। असारको रोपाइँ छाडेर आएका प्रतिनिधिहरू व्यवस्थापनप्रति आक्रोशित देखिएका थिए।
यसैबीच नयाँ नेतृत्व चयनमा जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न दबाब बढेको छ। गृहमन्त्री सुधन गुरुङ निकट समूहले सभापतिले मनोनीत गर्ने ५१ केन्द्रीय सदस्यमध्ये धेरै संख्या जेनजीलाई दिनुपर्ने माग उठाएको छ।
यद्यपि सांसद आशिष गजुरेलले युवाले मनोनयनको अपेक्षा गर्नुभन्दा निर्वाचनबाटै नेतृत्वमा आउनुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रतिक्रिया