अब कम गतिमा सवारी चलाएमा पनि जरिवाना,यस्तो छ सरकारले ल्याउने ट्राफिक नियम उलङ्घनमा जरिवानाको प्रस्ताव

२०८३ असार १२ गते

अब कम गतिमा सवारी चलाएमा पनि जरिवाना,यस्तो छ सरकारले ल्याउने ट्राफिक नियम उलङ्घनमा  जरिवानाको प्रस्ताव

काठमाडौँ । सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको मस्यौदा तयार पारेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक’को मस्यौदामा भारी मात्रामा जरिवानाको प्रस्ताव गरिएको छ ।

 

Advertisement:

Ad
Ad

प्रस्ताविक विधेयकको परिच्छेद ९ मा सजाय सम्बन्धि व्यवस्था राखिएको छ । जस अन्तर्गत विधेयकको दफा ६२ मा प्रस्ताव गरिए अनुसार चालकलाई ट्राफिक प्रहरीले विभिन्न ३३ वटा कसूरमा तत्काल कारबाही गर्न सक्नेछन् । साथै, थप ७ वटा कसूरमा पनि कारबाही गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ ।

यस्तो छ प्रस्तावित जरिवाना

विधेयकमा प्रस्ताव गरिएको सजाय सम्बन्धि व्यवस्थामा नगद जरिवाना मात्रै न्यूनतम् १ सयदेखि १ लाखसम्म तोकिएको छ । सवारी चालक र परिचालकले सवारी साधन चलाउँदा परिचयपत्र नलगाएमा एक सय रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । विधेयकमा प्रस्तावित जरिवाना रकममा यो नै सबैभन्दा न्यून जरिवाना हो ।

 

यसैगरी, दर्ता गरिएको प्रयोजनभन्दा अन्य प्रयोजनमा सवारी साधन गरेमा दुई पाङ्ग्रेलाई ५ हजार, साना तथा मझौला सवारीलाई १० हजार र ठूला सवारीसाधनलाई १५ हजार रुपैयाँ जरिवाना लाग्ने प्रस्ताव गरिएको छ । लाइसेन्स प्राप्त नगरी सवारीसाधन चलाएमा वा कुनै एक वर्गको सवारीसाधन चलाउने लाइसेन्स लिएर अर्को वर्गको सवारीसाधन चलाएमा वा सवारी जाँचपास नगरी चलाएमा दुई पाङ्ग्रेलाई ५ हजार, साना सवारीलाई १० हजार र बस तथा ट्रकलाई १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

 

रुट परमिट लिनुपर्ने सवारी साधनहरु परमिट नलिई चलाएमा १० हजार, सवारी प्रदूषण परीक्षणको प्रमाणपत्र नबोकी सवारी चलाएमा दुई पाङ्ग्रेलाई ५ हजार, निजी कारलाई १० हजार र बस तथा ट्रकलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

 

मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाएमा चालकलाई पनि भारी जरिवानाको प्रस्ताव गरिएको । यसमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा २५ हजार, ट्याक्सी र कारको हकमा ३५ हजार र माइक्रो बस, बस र ट्रकको हकमा ५० हजार जरिवाना तिर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सवारीसाधनमा अपारदर्शी सिसा राखेमा वा सिसामा अन्य कुनै वस्तु राखेर बाहिरबाट भित्र नदेखिने बनाएर सवारीसाधन चलाएमा १ लाख रुपैयाँ जरिवाना तिराउने प्रस्ताव विधेयकमा छ ।

 

यसैगरी, हेलमेट नलगाई दुइ पाङ्ग्रे सवारी साधन चलाएमा ३ हजार जरिवाना लगाउने भनिएको छ । तोकिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हमा २५ हजार, साना सवारीसाधनको हकमा ३५ हजार र मझौला तथा ठूला सवारीसाधनको हकमा ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । तर, तोकिएको गतिभन्दा ५ प्रतितसम्म गति बढी भएमा भने कुनै पनि जरिवाना लाग्ने छैन । अर्थात्, काठमाडौँमा सामान्यतया मोटरसाइकलको गति ५० किलो मिटर प्रतिघण्टा तोकिएको हुन्छ, अब यो विधेयक हुबहु पारित भएर कानून बनेमा ५२।५ किलोमिटर प्रतिघण्टाको स्पिडसम्म जरिवाना लाग्ने छैन ।

 

यति मात्रै होइन, अब तोकिएको गति सीमाभन्दा कम गतिमा सवारी चलाएमा पनि जरिवाना लाग्ने प्रस्ताव गरिएको छ ।अब पैदल यात्रीलाई पनि जरिवाना प्रस्ताव गरिएको छ । यस अनुसार अब सार्वजनिक सडकको निर्धारित बाहेकका अन्य स्थानबाट सडकमा पैदल यात्रीले यात्रा गरेमा ५ सय रुपैयाँ जरिवाना तिराउने विधेयकमा प्रस्ताव छ । यस्तै, सार्वजनिक सडकमा निर्माण सामग्री र पशु चौपाय छाड्नेहरुलाई समेत ५ हजारदेखि २५ हजारसम्म जरिवानाको प्रस्ताव गरिएको छ ।

 

यस्तै, बिसौनी बाहेक अन्य स्थानमा सवारी रोकेमा वा पार्किङ गरेमा ५ हजार जरिवाना लाग्ने प्रस्ताव गरिएको छ । लामो दूरीको सार्वजनिक सवारीमा प्रत्येक ८ घण्टामा चालक फेर्नुपर्नेछ । राती बत्ती नबाली सवारी चलाएमा २ हजार रुपैयाँ जरिवाना लगाउने भनिएको छ ।

 

साथै, अनुमति नलिई विदेशी सवारी साधन चलाएमा २५ हजार जरिवाना तिर्नुपर्नेछ ।चालकले एउटै कसुर दोस्रो पटक गरेमा थप ५० प्रतिशत र सोभन्दा बढी पटक गरेमा शतप्रतिशत थप जरिवाना लाग्ने व्यवस्था पनि प्रस्तावित विधेयकमा राखिएको छ ।