किसानलाई सहज बनाउन झापामा साल्ट ट्रेडिङले बिक्रीवितरण गर्यो मल

२०८३ असार ११ गते

किसानलाई सहज बनाउन झापामा साल्ट ट्रेडिङले बिक्रीवितरण गर्यो मल

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ।

कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२/८३ मा कूल ७०८.५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताए । यसमा युरिया मल १७२.५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ।

Advertisement:

Ad
Ad

किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उनले बताए।

हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२‍‍.३० मेट्रिक टन र पोटास मल ५.७५ मेट्रिक टन बिक्री भइसकेको उनको भनाइ छ । यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनसँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका १५ स्थानीय तहमा मल पठाइएको जनाइएको छ।


गौरादह नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कचनकबल गाउँपालिकाका लागि कम्पनीले यसै साता ४६ मेट्रिक टन रासायनिक मल उपलब्ध गराएको जनाएको छ।

उक्त मल सहकारी र फार्ममार्फत किसानलाई बिक्री गरिन्छ। धान रोपाइँ सुरु भएसँगै किसानलाई मुख्य रूपमा युरिया, डिएपी र पोटास मल बढी आवश्यक पर्ने गरेको छ।