२०८३ असार १० गते
नेप्सेमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। बुधबार नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा बन्द भयो। परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार कित्ता शेयर ७२ हजार ९१७ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
यस दिन पनि टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। दुवै कम्पनीको शेयरमूल्य ५९ रुपैयाँ ५० पैसाले बढेर ४५६ रुपैयाँ २० पैसामा पुगेको छ। त्यसैगरी, भुजुङ हाइड्रोपावरको शेयर १४ प्रतिशतभन्दा बढीले उकालो लाग्दा सिवाईसी नेपाल लघुवित्तको मूल्य करिब १० प्रतिशतले बढ्यो। विपरीत रूपमा, सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी पुनः अग्रस्थानमा रह्यो। कम्पनीको २९ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। सोपान फर्मास्यूटिकल्सको कारोबार १७ करोड रुपैयाँ नाघ्दा युनाइटेड मोदी हाइड्रोपावरको कारोबार रकम करिब १२ करोड रुपैयाँ पुगेको छ। उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये केवल दुई उपसमूह हरियालीमा रहे भने ११ उपसमूहमा गिरावट देखियो। वित्त र व्यापार उपसमूह सामान्य रूपमा बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.१० प्रतिशतले घट्यो। अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
प्रतिक्रिया