२०८३ असार १० गते
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्टलगायत व्यवसायीसँग करोडौँको संदिग्ध कारोबार गरेको अनुसन्धानमा भेटिएको छ । सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानमा पौडेलको गैरकानुनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको खुलेको हो ।
सोमबार सुर्खेतबाट पक्राउ गरी सडकमार्ग हुँदै मंगलबार काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएका पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनलाई ललितपुरको प्रहरी प्रभाग पुल्चोकस्थित हिरासतमा राखिएको छ ।
अर्थमन्त्री भएका वेला पौडेलले बिचौलिया भट्टलगायतलाई सहयोग गरी आर्थिक लाभ लिएको प्रमाणहरू संकलन गरेको विभागले जनाएको छ । यसरी आर्जन गरेको सम्पत्ति विभिन्न कम्पनीमा अन्य व्यक्तिको नाममा राखेकोसमेत अनुसन्धानमा पत्ता लागिसकेको छ । श्रीराम टोबाको कम्पनीमा पौडेलको पैसामा भट्टले ३० करोड रुपैयाँबराबरको सेयर निःशुल्क लिएको खुलेको छ ।
सो सेयर तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरेको देखिए पनि त्योभन्दा धेरै गुणा लाभांश लिइसकेको देखिन्छ । सो सेयर बिचौलिया भट्टको नाममा छ । विभागले श्रीराम टोबाको कम्पनीका सञ्चालकसँग बयान गरेर यसको पुष्टि गरिसकेको छ । नीतिगत रूपमा कम्पनीलाई फाइदा हुने निर्णय गरेर उनले सो सेयर हात पारेका हुन् । जसमा भट्टले मध्यस्थताको भूमिका खेलेका थिए । पौडेलले हिमालयन रिइन्स्योरेन्स र सातवटा लघुबिमालाई लाइसेन्स दिन सघाएको तथा सुपारी आयातमा सहजीकरण गरेबापत करोडौँको लाभ लिएको पनि अनुसन्धानमा खुलेको छ । बिचौलियाको प्रभावमा उनले ३० करोडभन्दा धेरै लाभ लिएको विभागको निष्कर्ष छ ।
त्यस्तै, बुटवलमा एक गाई फार्मको नाममा ३५ बिघा जग्गा भेटिएको छ । जुन जग्गा एक सामान्य व्यक्तिको नाममा लुकाएकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । सो फार्ममा मंगलबार विभागको टोली पुगेर विवरण संकलन गरेको छ । जनकपुर चुरोट कम्पनी निजीकरण गरेर नयाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएबापत पनि उनले लाभ लिएको विभागको निष्कर्ष छ ।
सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतमा उपस्थित गराइएपछि अदालतले सात दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ। हाल उनी काठमाडौंस्थित प्रहरी हिरासतमा रहेका छन् भने अनुसन्धान निकायले आर्थिक कारोबारसँग सम्बन्धित थप कागजात र डिजिटल प्रमाणहरू अध्ययन गरिरहेको जनाएको छ।
प्रतिक्रिया