२०८१ फागुन १९ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले आन्तरिक लगानीका लागि बेलाबेलामा सुचना जारी गरेर बैंक तथा वित्तिय संस्थालाई निक्षेपका लागि आव्हान गर्ने गरेको छ । उक्त आव्हानमा उसले राख्ने गरेको एउटा शर्त निक्षेप लिन चाहने बैंक तथा वित्तिय संस्थाको निस्क्रय कर्जा ५ प्रतिशत ननाघेको हुनुपर्नेछ भनेर उल्लेख गरिदै आएको छ । तर आइतबार केन्द्रिय बैंकले जारी गरेको यस्तै प्रकृतिको सुचनामा निस्क्रिय कर्जा ८ प्रतिशत ननाघेको भनिएको छ । यसको अर्थ अब केन्द्रिय बैंकले निस्क्रिय कर्जा ५ प्रतिशत नाघेको बैंकमा पनि निक्षेप राख्नेछ । यस विषयमा हामीले केन्द्रिय बैंकका प्रवक्ता रामु पौडेललाई के बैंकहरुको निस्क्रिय कर्जा बढेपछि ५ प्रतिशतको सिमा हटाएको हो भनेर सोधेको प्रश्नमा उनले समय सापेक्ष परिमार्जन गरिएको बताए ।
उनी भन्छन, ‘आन्तरिक लगानी नीतिमा समय सापेक्ष परिवर्तन गरिएको हो । बैंकहरुको खराब कर्जा बढेकोले सिमा पनि परिवर्तन गरिएको भन्ने विश्लेषण जसरी पनि गर्न सकिन्छ ।’ आइतबार केन्द्रिय बैंकले ४ अर्ब ७९ लार रुपैयाँ बैंक तथा वित्तिय संस्थामा निक्षेप राख्नका लागि सुचना जारी गरेको हो । जसअनुसार केन्द्रिय बैंकले ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ बाणिजय बैंकमा, ६० करोड ११ लाख विकास बैंकमा र २० करोड ३ लाख फाइनान्स कम्पनीमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्नेछ ।
प्रतिक्रिया