२०८२ जेठ २१ गते
काठमाडौँ । भिजिट भिसा प्रकरणको विषयलाई लिएर संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेको छैन ।
दिउसो एक बजेका लागि बोलाइएको बैठक भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेका कारण संसद्को जारी अवरोध खुल्न सकेको छैन ।
संसद्को गतिरोध अन्त्य गर्ने सम्बन्धमा सभामुख देवराज घिमिरेले प्रतिपक्ष र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग छलफल गरेका हुन् । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेको आह्वानमा आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक सत्तापक्ष र विपक्षदलहरु आ–आफ्नो अडानमा कायम रहेपछि बैठक विना निष्कर्ष सकिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने, भिजिट भिसामा भएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने अडान कायम राखेका छन् ।
सत्तापक्षीय दलहरूले भने भिजिट भिसा प्रकरणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने बताउँदै आएका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको जेठ १३ र १४ गतेको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका थिए ।
प्रतिक्रिया