२०८२ वैशाख ०६ गते
काठमाडौ । नेपाल बैंकले नाफामा छलाङ मारेको प्रतिवेदन निकालेको छ । चालु आर्थिक वर्षको (२०८१/०८२) तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत वर्ष बैंकले यो अवधिमा १३ करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफा गत आवको यसै अवधिभन्दा २ हजार ३२ प्रतिशतले बढी हो ।बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ६६ करोडबाट घटेर २८ करोड २८ लाख रुपैयाँमा झर्दा बैंकले नाफामा सुधार गर्न सकेको देखिन्छ । बैंकको लाभांश वितरण क्षमता ३० करोड ६२ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २६०.७४ रुपैयाँ छ ।
गतवर्ष १.१८ रुपैयाँमात्र प्रतिसेयर आम्दानी थियो । बैंकको खराब कर्जा भने साढे ५ प्रतिशत नजिक पुगेको छ । यसले बैंकको ऋण उठ्न समस्या भएको स्पष्ट देखिन्छ । बैंकको खुद ब्याज आम्दानी पनि ६ अर्ब ७७ करोडबाट बढेर ७ अर्ब १० करोड पुगेको छ । २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ जगेडा कोषमा जम्मा गरेको बैंकको चुक्तापुँजी भने १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया