नेपालसँग हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स पनि करिब १२ खर्ब भित्रियो

२०८२ वैशाख २८ गते

नेपालसँग हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स पनि करिब १२ खर्ब भित्रियो

काठमाडौ । कुनैबेला विदेशी मुद्रा सञ्चितीमा झण्डै टाट पल्टनेसम्मको अवस्थामा पुगेको नेपालसँग हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिती पुगेको छ । नेपाल राष्ट्र  बैंकको तथ्यांकले नेपालसँग हालसम्मकै उच्च विदेशी मुद्रा रहेको देखाउँछ । हाल मुलुकमा २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति चैत मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ  पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् ।

Advertisement:

Ad
Ad

२०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए । यस्तै रेमिट्यान्समा पनि १० प्रतिशतको बृद्धि छ । चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।