पतञ्जली योगपिठको जग्गा हिनामिना प्रकरणमा मुछिए दर्जन बढी बैंकर, को-को परे ?

२०८२ जेठ २२ गते

पतञ्जली योगपिठको जग्गा हिनामिना प्रकरणमा मुछिए दर्जन बढी बैंकर, को-को परे ?

काठमाडौ । पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको नामले निकै चर्चा पाएको छ । भ्रष्टाचारमा उनीविरुद्ध परेको मुद्दाको तर्क वितर्क भइरहेको बेला यही प्रकरणमा एक दर्जन भन्दा बढी बैंकर पनि मुछिएका छन् ।

तत्कालिन सनराइज बैंक (हाल लक्ष्मी सनराइन)ले पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनीलाई कर्जा दिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकद्वारा भ्रष्टाचार भएको दाबी गर्दै बैंकरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले प्रेस विज्ञप्ति जारी गर्दै ती बैंकर्सको नाम पनि सार्वजनिक गरेको छ ।

Advertisement:

Ad
Ad

 अख्तियारले दायर गरेको मुद्दामा तत्कालिन सनराइज बैंकका कार्यकारी अधिकृतदेखि जुनियर म्यानेजमेन्ट ट्रेनीसम्म मुछिएका छन्। तत्कालीन सनराइज बैंकले आजभन्दा १७ वर्षअघि पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई जग्गा धितो राखेर १० करोड रुपैयाँ ओभरड्राफ्ट कर्जा दिएको थियो। बैंकले बदनियतले हदबन्दीभन्दा बढी जग्गा धितो राखेर कर्जा दिएको अख्तियारको ठहर छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको नाममा रहेको हदभन्दा बढी जग्गा सुरक्षण वापत धितोमा राख्ने गरी तत्कालिन सनराइज बैंकबाट मिति २०६४/११/१५ गते निर्णय  गराएको अख्तियारले भनेको छ । उक्त प्रकरणमा बैंकका तत्कालिन कार्यकारी अधिकृत किशोर कुमार महर्जन समेत परेका छन्।

जुनियर म्यानेजमेन्ट ट्रेनी– एशु मैनाली, उप–प्रबन्धक– मनोज न्यौपाने,, वरिष्ठ सहायक– विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक– रविन कुमार नेपाल, सहायक महाप्रबन्धक– आशा राणा अधिकारी र जोखिम व्यवस्थापन विभागका प्रमुख– सञ्जय कुमार सिद्धी परेका छन् । यस्तै अनुपालन विभागमा कार्यरत– सुनिल रत्न स्थापित,नायब महाप्रबन्धक– बलराम विष्ट,तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत– किशोर कुमार महर्जन,सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत– सुजित पोखरेल,शाखा प्रबन्धक– राजीव सापकोटा र अधिकृत– ममता पराजुली पनि मुछिएका छन् ।

अख्तियारले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।