अमेरिका इरान युद्धबिराम सहमति,विश्वबजारमा तेलको भाउ घट्यो

२०८२ चैत २५ गते

अमेरिका इरान युद्धबिराम सहमति,विश्वबजारमा तेलको भाउ घट्यो

काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति जनाएको उल्लेख गरेका छन् । उनले यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन् ।

Advertisement:

Ad
Ad


उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको हो । उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए ।

ट्रम्पले युद्धविराम सशर्त रहेको स्पष्ट गर्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनस् खोल्नुपर्ने बताएका छन् । तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको उनको भनाइ छ ।


यो दुई पक्षीय युद्धविराम हुनेछ,’ ट्रम्पले भनेका छन्, ‘यस अवधिमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ ।’

उनले अमेरिकी सैन्य लक्ष्यहरू पूरा भइसकेको दाबी गर्दै दीर्घकालीन शान्ति सम्झौतामा प्रगति भएको पनि उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको छ, जसलाई उनले वार्ताको व्यावहारिक आधार मानेका छन् । अधिकांश महत्वपूर्ण विषयमा प्रारम्भिक सहमति भइसकेको उनको दाबी छ ।

यो समाचार बाहिरिएसँगै विश्व बजारमा सकारात्मक प्रभाव देखिएको छ। अमेरिकी स्टक फ्युचर्समा वृद्धि भएको छ भने तेलको मूल्यमा भारी गिरावट आएको छ। अमेरिकी कच्चा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल ९२ डलर कायम भएको छ। यसअघि ट्रम्पले इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पार्ने धम्की दिएपछि विश्वका नेताहरू, संयुक्त राष्ट्र संघ र पोप लियोले समेत त्यसको कडा निन्दा गरेका थिए।

अमेरिकामा मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्पको लोकप्रियता निकै घटेको छ भने अमेरिकी नागरिकहरू बढ्दो इन्धनको मूल्य र युद्धबाट आक्रोशित छन्।