साढे २४ प्रतिशतले नाफा बढाएको कामना सेवाको प्रतिसेयर आम्दानी डबल डिजिटमा, अरु सुचक कस्तो छ ?

२०८१ माघ ०८ गते

साढे २४ प्रतिशतले नाफा बढाएको कामना सेवाको प्रतिसेयर आम्दानी डबल डिजिटमा, अरु सुचक कस्तो छ ?

काठमाडौ । कामना सेवा विकास बैंकको अधिकांश सुचकमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत वर्षको यसै अवधिको तुलनामा २४.५५ प्रतिशतले बढी हो । गत वर्ष यस बैंकले २५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले नाफा बढाउनुको कारण खुद ब्याज आम्दानीमा बढोत्तरी र इन्पेयरमेन्ट चार्ज घट्नु रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज २१ करोड १९ लाखबाट घटेर १९ करोड ६४ लाख रुपैयाँमा झरेको छ । यस्तै खुद ब्याज आम्दानी ९५ करोड ८८ लाखबाट बढेर १ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ । कामनाको वितरणयोग्य नाफा १७ करोडबाट बढेर ३७ करोड भन्दा धेरै पुगेको छ । यसले बैंकको लाभांश वित्तरण क्षमता थप बढेको देखाउँछ । चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ जम्मा रहेको छ ।

Advertisement:

Ad
Ad

सञ्चालन आम्दानी पनि बढेको छ । सञ्चालन नाफा ४६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यो भनेको गत वर्षको यसै अवधिको तुलनामा २६.८० प्रतिशतले बढी हो । बैंकको लागत (कस्ट अफ फण्ड) पनि २.९८ प्रतिशतले घटेको छ । बैंकको कस्ट अफ फण्ड ५.६५ प्रतिशत रहेको छ । गत वर्ष ८.६३ प्रतिशत रहेको थियो ।

प्रतिसेयर आम्दानी १८.३७ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.७२ प्रतिशत पुगेको छ । बैंकको आधारदर पनि ११ प्रतिशतबाट ७.७२ प्रतिशतमा झरेको छ । आधारदर कम हुनु भनेको यसले बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर कम हुने आधार पनि हो ।

बैंकले ६१ अर्ब ५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ र ४८ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ३.३७ प्रतिशतले र कर्जा लगानी ६.११ प्रतिशतले बढेको छ। बैंकको सेयर क्यापिटल ३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यो पुँजी गत वर्षको यसै अवधि भन्दा ७ प्रतिशतले बढी हो ।