२०८३ भदौ २६ गते
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई दिइएको छ ।
निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो । भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्व निरन्तरता दिन उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो ।
महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत रहेका उपाध्याय बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि क्रियाशील व्यवसायी हुन् । सिबिफिनको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर उनले संस्थाको विकास र सुदृढीकरणमा योगदान दिँदै आएका छन् ।
विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभवका आधारमा उपाध्यायको नेतृत्वमा सिबिफिन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
हाल बैंकिङ क्षेत्रले नीतिगत तथा व्यावहारिक चुनौती सामना गरिरहेको अवस्थामा उपाध्यायको समन्वयकारी र अनुभवी नेतृत्वले बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता र दिगो विकासका विषयमा सिबिफिनको भूमिका थप प्रभावकारी बनाउने विश्वास संस्थाले व्यक्त गरेको छ ।
प्रतिक्रिया