वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक : सर्वाधिक कमाउने नविल, कमजोर माछापुच्छ्रे

२०८१ साउन २१ गते

वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक : सर्वाधिक कमाउने नविल, कमजोर माछापुच्छ्रे

काठमाडौं । वाणिज्य बैंकहरुको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । प्रकाशित वित्तीय विवरणअनुसार बैंकहरुको नाफा बढेको छ । सञ्चालनमा रहेका २० बैंकले आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका हुन् । उनीहरुले गरेको नाफा अघिल्लो आवमा गरेको ५६ अर्ब ५७ करोडभन्दा साढे ८ अर्ब अर्थात् १३.४ प्रतिशत बढी हो ।

२० मध्ये नाफा बढाउने र घटाउनेको संख्या १०–१० रहेको छ । यीमध्ये सबैभन्दा बढी नाफा वृद्धि प्रभु बैंकले १५ गुणा बढीले गरेको छ भने एनआईसी एशियाको नाफामा सर्वाधिक गिरावट आएको छ । २० बैंकमध्ये रकमको हिसावले सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल हो भने सबैभन्दा कमजोर माछापुच्छ्रे देखिएको छ । नबिलले १ आवमा ७ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा गर्दा माछापुच्छ्रेको १ अर्ब २५ करोडमात्र छ ।

Advertisement:

Ad
Ad

वाणिज्य बैंकहरुमध्ये १५ वटाको लाभांश वितरण क्षमता पोजेटिभ देखिएको छ भने ५ वटाको लाधांश वितरण क्षमता ५ प्रतिशत भन्दा कम छ । यो हिसावले हेर्दा १० वटाले मात्र सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश दिन सक्नेछन् । यता, लाभाश क्षमता ऋणात्मक भएका कम्पनीहरु भने ४ वटा देखिएका छन् । यिनीहरुले भने सेयरधनीलाई लाभांश दिनसक्ने सम्भावना छैन ।

सबैभन्दा धेरै एभरेष्ट बैंकको लाभांश क्षमता देखिएको छ । यसले सेयरधनीलाई २९.८६ प्रतिशत प्रतिफल दिन सक्ने देखिएको छ । आर्थिक वर्ष २०७९/० ८० को नाफाबाट पनि यो बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ३८.४२ प्रतिशत थियो । यता, स्टान्डर्ड चार्टर्डको २६.५० प्रतिशत, कृषि विकास बैंको १७.३७, नबिल बैंकको १४.२६, नेपाल एसबीआइ बैंकको १०.७६ र सानिमा बैंकको १०.४० प्रतिशत लाभांश क्षमता छ ।

नविल सबैभन्दा धैरै नाफा कमाउने बैंक

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धैरै नाफा कमाउने बैंक नविल बनेको छ । नविल बैंकले आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब ६ करोड मुनाफा आर्जन गरेको हो ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफा बढेको हो । आर्थिक वर्ष २०७९/०८० मा बैंकले ६ अर्ब ६० करोड नाफा गरेको थियो ।

बैंकको ब्याज आम्दानी ८.६९ प्रतिशतले गिरावट देखिएको छ । कम्पनीको सञ्चालन मुनाफा ६.५१ प्रशितले बढेको छ । बैंकले खराब कर्जा घटाउन ठूलो मिहनेत गरेको देखिन्छ ।

गतवर्ष बैंकले १.१८ प्रतिशत रहेको खराब कर्जालाई १.०७ प्रतिशतमै सिमित गरेको छ । बैंकले नाफामा सुधार गरेसँगै प्रति शेयर आम्दानीमा पनि सुधार गरेको छ । अब बैंकको प्रतिशेयर आम्दानी २६.९ रुपैयाँ पुगेको छ ।

बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८५ करोड छ । बैंकले निक्षेप संकलन १६.४४ प्रतिशतले बढाएको छ भने कर्जा विस्तार १२.९४ प्रतिशतले बढाएको छ । २७ अर्ब ५ करोड चुक्ता पुँजी रहेको बैंकमा ३२ अर्ब ५१ करोड जगेडा कोषमा रहेको छ ।