सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, ४ हजार ६७२ जनाले पाए शेयर

२०८१ साउन १६ गते

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, ४ हजार ६७२ जनाले पाए शेयर

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट हुने भएको छ । बुधवार विहान विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको नागपोखरी नक्साल, स्थित कार्यालयमा एफपीओ बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो । बाँडफाँटमा भाग्यमानी ४ हजार ६७२ जनाले शेयर पाएका छन् । पहिलो चरणमा १० कित्ताका दरले यी आवेदकहरूलाई शेयर बाँडफाँट गर्दा बाँकी रहेको ९ दशमलव ५४५ कित्ता शेयर नौ जना आवेदकहरूले थप एक कित्ताका दरले र एक जनाले शून्य दशमलव ५४५ कित्ता शेयर बाँडफाँट गरिएको हो ।

सूर्योदय वोमी लघुवित्तले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ साउन ४ गतेदेखि ८ गतेसम्म विक्री गरेको थियो । कम्पनीको एफपीओ खरीदका लागि १५ लाख ६४ हजार ४२३ जनाले आवेदन दिएकोमा १५ लाख ६३ हजार ३२२ जनाको आवेदन मात्र सदर भएको जानकारी विक्री प्रबन्धकले दिएको छ । रितपूर्वक नभएका १ हजार १०१ जनाको आवेदन रद्द भएको भनाई विक्री प्रबन्धकको छ । कम्पनीको एफपीओ खरीदका लागि ४७३ दशमलव ५३ गुणा बढी आवेदन परेको हो ।

Advertisement:

Ad
Ad

धितोपत्र दोस्रो बजारमा मंगलवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १४० रूपैयाँ कायम छ । एफपीओ दोस्रो बजारमा सूचीकृतपश्चात् दोस्रो बजारमा कारोबार भैरहेकै मूल्यमा कारोबारमा आउनेछ । अहिलेकै मूल्यलाई लिएर आकलन गर्ने हो भने कम्पनीको एफपीओ प्राप्त गर्ने लगानीकर्ता पहिलो दिनमै ११ हजार रूपैयाँभन्दा बढी नाफामा हुनेछन् ।

कम्पनीको एफपीओ प्राप्त गर्ने लगानीकर्ता पहिलो दिनमै नाफामा हुने मात्र हैन अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट वितरणका लागि प्रस्ताव गरिएको बोनस शेयर समेत प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले १४ दशमलव ०७७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारितका लागि साउन ३२ गते वार्षिक साधारण सभा बोलाएको छ । एफपीओपछि कायम चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँको आधारमा १२ करोड ८२ लाख १० हजार रूपैयाँ बराबरको बोनस शेयर कम्पनीले वितरण गर्न लागेको हो ।

यो बोनस शेयर साउन २३ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् । कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन २४ गते एक दिन बुक क्लोज गर्न लागेको हो ।