२०८२ असार ३२ गते
काठमाडौ । सर्वसाधारणले दुस्ख गरेर आर्जन गरेको नगद कौडीको भाउमा बैंकमा राख्न बाध्य भएका छन् । सानो सानो आम्दानीबाट बचत गरेर रकम जम्मा गर्दै आएका सर्वसाधारणलाई पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले अत्यन्तै न्युन ब्याजदर प्रदान गर्दै आएका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को पहिलो पहिना साउनमा पनि निक्षेपकर्ताले झनै कम ब्याजदर पाउँने भएका छन् । बैंक तथा वित्तिय संस्थाले साउनका लागि निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन् । १४ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा साउन महिनाको औसत अधिकतम ब्याजदर ५.६९७५ प्रतिशतमा झरेको छ । बैंकहरुको औषत ब्याजदर असारमा ५.९०२ प्रतिशत थियो। सोही आधारमा साउनमा ०.२०४५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा पनि औषत ब्याजदर करिब ०.२६ प्रतिशत विन्दुले घटेको छ।
प्रभु बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत ब्याज दिँदै आएको प्रभु बैंकले साउन महिनाबाट ४.२५ प्रतिशत मात्र ब्याज दिनेछ । यो ब्याजदर वाणिज्य बैंकहरूमा सबैभन्दा कम हो। तर बाणिज्य बैंकहरुमा सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२६ प्रतिशत ब्याजदर दिनेछ। माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
यता, ब्याजदर वृद्धि गर्ने एक मात्र बैंक हिमालयन बैंक रहेको छ। उसले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ। त्यस्तै, संस्थागत निक्षेपमा पनि १ प्रतिशतले वृद्धि गर्दै ५ प्रतिशत पुर्याएको हो। बाँकी १४ वटा बैंकको भने घटेको छ ।
केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत निक्षेपकर्ताको हित हुने गरी ब्याजदरमा केही सहजता प्रदान गर्ने अपेक्षा गरिएको थियो । तर गभर्नर डा. विश्वनाथ अधिकारीले ब्याजदर करिडोरको माथिल्लो सिमालाई नै घटाइदिए । यसले ब्याजदर अझ घटाउँन सहयोग पुग्छ जसका कारण निक्षेपकर्ताको निक्षेपको मूल्य अझै घट्नेवाला छ । यद्यपि, अहिले बैंकहरुमा परेको अधिक तरलताको व्यवस्थापनमा भने सघाउँ पुग्ने केन्द्रिय बैंकको विश्वास छ ।
कुन बैंकको ब्याजदर कति छ ?
प्रभु बैंकः ४.२५ प्रतिशत
राष्ट्रिय बाणिज्य बैंकः ५.५ प्रतिशत
एभरेष्ट बैंकः ६.२५ प्रतिशत
एनआइशी एशियाः ६.२५ प्रतिशत
प्राइम कमर्सियल बैंकः ६ प्रतिशत
नबिल बैंक : ५.५ प्रतिशत
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकः ५.२५ प्रतिशत
लक्ष्मी सनराइज बैंक : ५.५ प्रतिशत
सानिमा बैंकः ६.१८ प्रतिशत
नेपाल एसबिआई बैंकः ५.३५ प्रतिशत
सिटिजन्स बैंक इन्टरनेशनलः ५.५ प्रतिशत
कुमारी बैंकः ५.६१ प्रतिशत
कृषि विकास बैंक :५.४ प्रतिशत
नेपाल बैंकः ५.४ प्रतिशत
माछापुछ्रे बैंक : ६ प्रतिशत
ग्लोबल आइएइमई बैंक : ६ प्रतिशत
सिद्धार्थ बैंकः ५.७५ प्रतिशत
एनएमबी बैंक : ६ प्रतिशत
स्ट्याण्डर्ड चार्टड बैंक : ६.२५ प्रतिशत
प्रतिक्रिया