सहुलियतपुर्ण कर्जाको ब्याज अनुदानमा भारी कटौती, अब ३ प्रतिशतमात्र अनुदान दिइने

२०८२ भदौ १२ गते

सहुलियतपुर्ण कर्जाको ब्याज अनुदानमा भारी कटौती, अब ३ प्रतिशतमात्र अनुदान दिइने

काठमाडौं । सरकारले विभिन्न क्षेत्रमा दिइदै आएको सहुलियतपुर्ण कर्जामा दिने ब्याज अनुदानमा भारी कटौती गरेको छ । विभिन्न १० क्षेत्रमा सहुलियतपुर्ण कर्जा प्रवाह गर्ने गरेको सरकारले त्यसमा ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको थियो ।

अब भने ती सबै खालका कर्जामा ३ प्रतिशत ब्याज अनुदान दिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंक  “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्र्यिवधि, २०८२ सार्वजनिक गरेको छ । १० शिर्षकलाई  ८ शीर्षकमा झारेको छ । नयाँ कार्यविधिले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितहरूको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि र प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम शीर्षकलाई हटाएको छ । 

Advertisement:

Ad
Ad

महिला उद्यमशिलता कर्जामा ६ प्रतिशत र ५ करोडभन्दा माथिको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशत माथि अनुदानको व्यवस्था रहेको कार्यविधि खारेज भएर अब सबै कर्जामा ३ प्रतिशत ब्याज अनुदान दिने भएको हो ।


‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ ले ग्राहकलाई यस्तो खाले कर्जामा बैंकको आधारदरमा १.०५ प्रतिशत विन्दुभन्दा प्रिमियम दर नबढाइ ब्याजदर तोक्न निर्देशन दिएको छ ।

यस्तै “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्र्यिवधि, २०८२” बमोजिम प्रवाहित कर्जामा नेपाल सरकारबाट प्रदान गरिएको अनुदान रकम यस बैंकले उपलव्ध गराउने छ । उक्त कार्यविधि बमोजिम कर्जा प्रवाह गरी नेपाल सरकारबाट पाउनु पर्ने ब्याज अनुदान वापतको रकमलाई पुँजीकोष अनुपात गणना प्रयोजनका लागि सरकार माथिको दावी सरह शून्य प्रतिशत जोखिमभार प्रदान गर्न सकिने केन्द्रिय बैंकले भनेको छ ।

साथै  बैंक तथा वित्तीय संस्थाले“सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्र्यिवधि, २०७५” बमोजिम हाल कायमरहेका ऋणी र “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्र्यिवधि, २०८२” बमोजिम सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्नु पर्ने व्यवस्था पनि नयाँ कार्यविधिले गरेको छ ।