रविका पार्टनर जीबी राईको आर्थिक हिनामिनाको श्रृंखला- गोल्डक्वेष्टदेखि हर्बो हुँदै सहकारी ठगीसम्म

२०८१ असोज ०४ गते

रविका पार्टनर जीबी राईको आर्थिक हिनामिनाको श्रृंखला- गोल्डक्वेष्टदेखि हर्बो हुँदै सहकारी ठगीसम्म

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनले नेटवर्किङ्ग व्यवसायसँग जोडिएको सहकारी ठगीका बारेमा खुलासा गरेको छ ।

गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा खन्याउने गितेन्द्रबाबु (जीबी)राईको आर्थिक अपचलनको यात्राबारेमा पनि उजागर गरेको छ । उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको रिपोर्टहरू सार्वजनिक भएका छन् ।

Advertisement:

Ad
Ad

गोल्डक्वेष्टदेखि हर्बो हुँदै सहकारी

राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो । त्यसपछि नेपालमा हर्वो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए। तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेका छन्।

सहकारी संस्थामा बचतकर्ताको बचत रकम अपचलन र दुरुपयोग गर्ने एवं सहकारीको बचत रकम गैरकानूनी रूपमा निजी कम्पनी र व्यक्तिको नाममा प्रवाह गर्ने जीबी राई समेतको गिरोह लामो समयदेखि नेटवर्किङ्ग व्यवसायमा रहेका र नेटवर्किङ शैलीमै सहकारी संस्थाहरूको फैलावट र प्रसार गरी हरेक संस्थाबाट रकम अपचलन गर्ने गरेको पाइन्छ । त्यस्ता सहकारी सञ्चालकहरूले कम्पनीकै शैलीमा सहकारी संस्थाहरूको बिस्तार गर्नुका साथै अरूको नाममा कर्जा खडा गरी आफैले दुरूपयोग समेत गर्ने गरेको पाइएको छ ।

२०५६ सालदेखि २०५८ सालसम्म नेपालमा गोल्डक्वेष्ट भन्ने हङ्कङबाट सञ्चालित कम्पनीले सुनको सिक्का प्रतिव्यक्ति ३७ हजार ५०० को दरले दिने भन्दै गैरकानूनीरूपमा नेटवर्किङ ९प्रत्यक्ष बिक्री प्रणाली० गर्दै पैसा उठाएको देखिन्छ । यस्तो व्यवसायमा गितेन्द्रबाबु राई ९ जीबी राई० । सुरुदेखि नै आफ्नो दाजु अनन्तबाबु राईको माध्यमबाट जोडिएका थिए। यस्तै नेटवर्क व्यापारमा लागेर सुरुदेखि नै नेतृत्व विकास भन्दै अनेक प्रशिक्षण र कला समेत सिकेका थिए । गोल्डक्वैष्टमा नेपाल सरकारले प्रतिबन्ध गरेपछि पनि उनी यस्तै गैरकानूनी धन्दामा रमाउन थालेका छन् ।

यस्तैक्रममा स्वदेशी जडीबुटीजन्य वस्तुको व्यापार नेटवर्किङ तरिकाले गर्ने भनेर २०६१ सालमा हर्बी लगायत धेरै कम्पनीहरू खुल्छन् । अनन्तबाबु राई हबको संस्थापक निर्देशक बन्छन् र उनैको साथमा उनका भाईहरू देबेन्द्रबाबु राई माइलो र गितेन्द्रबाबु राई ९जीबी राई कान्छो पनि हर्बो व्यापारमा लाग्ने र पढ्ने पढाउने र संगठन बनाएर काम गर्न सुरु गर्छन् ।

तत्कालीन यो व्यापारलाई व्यवस्थित गर्न सरकारले उपभोक्ता ऐन अन्तर्गत नेटवर्क मार्केटिङ् व्यवसाय सम्बन्धी निर्देशिका जारी गरेर चारवटा कम्पनीहरू सञ्चालित हुन्छन् । अन्यले अनुमति लिन कोशिस गरिरहेकै बेला हर्बोले सरकारसँग मिलेर स्थायित्व दिन काम सुरु गर्छ। तर युनिटी लगायत कम्पनीले निर्देशिकाको विपरीत हुने गरी बस्तुको व्यापार नगरेको देखिएको र पैसा उठाएर कमिसन दिने मात्र काम गरेकोले अनुमति पाउँदैन र कारबाहीमा पर्दछन् ।

यहीबीचमा देशी विदेशी कम्पनीका प्रतिनिधिहरूको पहलमा तत्कालिन वाणिज्य मन्त्री राजेन्द्र महतोको मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका खारेजको सूचना निस्किन्छ। यो सूचना सरोकारवालाको लगानी डुबाउने खेल र दुई पक्षीय छलफल नभई गरिएको निर्णय गलत छ भनेर हर्वो लगायत ४ वटा कम्पनी सर्वोच्चमा रिट हाल्छन् र न्यायाधीश खिलराज रेग्मीको इजालसले अन्तरिम आदेश दिएपछि काम सुचारु हुन्छ ।

यही समयमा जीबी राईको भगवती बम्जन (निशा बम्जन) सँग विवाह हुन्छ । गोर्खा सेभिङ्गससँग सम्बन्धित ज्ञानबहादुर बम्जनले आफ्ना धेरै सहकारीमध्ये पोखराको सूर्यदर्शनमा आफ्ना ज्वाई जीबीलाई काम गर्न लगाउँछन् र हर्बोको काम बीचमै साइड बिजनेस बनाएर कर्मचारीको रूपमा काम गर्न पोखरा बस्न सुरु गरेको देखिन्छ । किनकि जीबी राईले हर्बोबाट उल्लेखनीय कमाइ गर्न नसकेको देखिन्छ । हर्बोमा जीबी राई सामान्य लिडर र हबोंको बारेमा प्रेजेन्टेसन गर्न सक्ने भूमिकामा मात्र देखिन्छन् ।

यसरी नेटवर्क व्यापारबाट शिक्षित र दिक्षित बनेर जीबी राई सहकारीको क्षेत्रमा ससुरालीको सम्बन्ध प्रयोग गरेर छिरेको देखिन्छ र पछि त्यही सहकारी कब्जा गरेर देशै भरी नेटवर्क कम्पनी कै जस्तो गरी सहकारीको नेटवर्क बनाएको देखियो ।

सङ्गतबाट कामाद हुँदै स्वर्णलक्ष्मी

हर्बो इन्टरनेशलन प्रा। लि।मा कार्यकारी निर्देशक रहेका अनन्तबाबु राईले भाइ गितेन्द्रबाबुलाई मार्केटिङ्गमा जागिर लगाइदिएका थिए। पछि उनी सूर्यदर्शन सहकारी पोखरामा जागिर खानका लागि गए। उनै गितेन्द्रबाबु राईले हर्बी ग्रुप र साबिक हाम्रो ग्रुप हाल गोर्खा ग्रुप सञ्चालन गर्नका लागि २०६८ सालमा सङ्गत ग्रुप प्रा। लि। मा पुष्पराज पौडेल ९ पुरुष सँग मिली विभिन्न निर्णयहरू गरेको देखिएको छ । उक्त निर्णयअनुसार सबै सम्पत्ति र कम्पनीको हरहिसाब गरेर सङ्गत ग्रुपमा राखे भनेता पनि सबै सेयर र जग्गा लिएपछि निज गितेन्द्रबाबु राई सम्पर्कविहीन भएर हिसाब नगरेको भन्ने सङ्गतकै अन्य सञ्चालकरूको दावी छ। गितेन्द्रबाबु राई सम्पर्कमा नरहेपछि ती निर्णयहरू कार्यान्वयन हुन सकेनन् । कम्पनी सञ्चालनको विषय कम्पनी रजिस्ट्रारको कार्यालयको क्षेत्राधिकारभित्रको विषय देखिन्छ ।

आर्थिक वर्ष २०६२/०६३ तिर पुष्पराज सहितले स्थापना गरेको कामाद सहकारीलाई पनि सञ्चालकहरूको इच्छाविपरीत कब्जा गरेर अरु सहकारीमा एकीकरण गराएको देखिन्छ । कामाद सहकारीका अरू सञ्चालकहरूको सेयर आफुखुसी शून्य बनाइदिएको, बैङ्क खाताको पैसा पनि आफुखुसी चलाउने गरेका थिए। सहकारी एकीकरणपछि कतिपय बचतकर्तालाई पासबुक पनि नबनाइदिएको वा पैसाको ग्राहकलाई हिसाब दिएका थिएनन् । सेयरधनी र बचतकर्ताको पनि छुट्याएर २र३ करोडको कारोबार नमिलाएको तर स्वर्णलक्ष्मी र प्रणोदयिनीका कानूनी समस्याहरू लुकाउन कामादको विधान प्रयोग गर्न एकतर्फी एकीकरण गरेर हिसाब नदिएको भन्ने निवेदन यस समितिमा पनि परेको देखिन्छ ।