२०८२ साउन २३ गते
काठमाडौ । ट्राभल, टुर कम्पनीले विदेश भ्रमणमा जाने नेपालीका लागि होटल बुकिङ गरेको भुक्तानीको लागि वाणिज्य बैंकबाटै विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । तर ट्राभल कम्पनीले सटही सुविधा पाउँन ९ वटा शर्त पुरा गर्नुपर्नेछ ।
नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमयको कारोबार गर्ने संस्थाहरुको लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै सटही सुविधा दिने व्यवस्था गरेको हो । ‘विदेशी विनिमय कारोबार गर्ने ट्राभल, टूर लगायतका संस्थाले विदेश (भारत बाहेक) भ्रमणमा जाने नेपालीलाई आवश्यक पर्ने होटलको लागि सम्बन्धित विदेशी सेवा प्रदायक वा त्यस्तो सेवाको प्रबन्ध गर्ने विदेशी संस्थासँग सम्झौता गरी सेवा प्रदान गर्न सक्नेछ ।यसरी विदेशी सेवा प्रदायकसँग सम्झौत गरी होटल बुक गरेको भुक्तानी गर्न वाणिज्य बैंकबाट विदेशी मुद्रा सटही सुविधा पाउने छन् ।
यसअघि वैदेशिक भ्रमणमा जाने नेपालीले पासपोर्टमा छाप लगाएर एक पटकमा २५ सय अमेरिकी डलर बराबरको परिवत्र्य विदेशी मुद्रामा सटही सुविधा दिइदै आएको थियो । सोही मुद्राबाट नै भ्रमणमा जानेले होटल बुक र ट्राभल प्याकेज लगायत वैदेशीक भ्रमणमा लाग्ने खर्च व्यवस्थापन गर्नुपर्ने थियो । तर, अब भने ट्राभल, टुरमार्फत होटल बुकिङ गर्दा ट्राभलले नै विदेशी सेवा प्रदायकलाई भुक्तानी गर्न सटही सुविधा पाउने छन्। तर यसका लागि राष्ट्र बैंकले शर्त तोकेको छ ।यी शर्त पुरा गरेको अवस्थामा मात्र सटही सुविधा हुने केन्द्रिय बैंकले स्पष्ट पारेको छ ।
नेपाली संस्थाको निवेदन,नेपाली संस्थाको दर्ता सम्बन्धी कागजातको फोटोकपी, नेपाली संस्थाको स्थायी लेखा नम्बर दर्ता सम्बन्धी कागजातको फोटोकपी, नेपाली संस्थालाई नेपाल राष्ट्र बैंकबाट प्रदान भएको विदेशी विनिमय कारोबार इजाजतपत्रको फोटोकपी,भुक्तानीमा नियमानुसार कर दाखिला भएको निस्सा हुनुपर्नेछ । त्यस्तै नेपाली संस्थाको सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीबाट भुक्तानीको लागि भएको अनुरोध र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहको पालना भएको/हुने, विदेशी विनिमय अपचलन नभएको /नहुने, प्रचलित अन्य सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरुको पालना भएकोरहुने र त्यस्तो पालना नभएमा सोको सम्पूर्ण जिम्मेवारी वहन गर्ने व्यहोराको स्वःघोषणा उल्लेख गर्नुपर्नेछ ।
यसैगरी विदेशी संस्थाले भुक्तानी अनुरोध गरेको व्यहोरा खुल्ने नोटरीबाट प्रमाणित बीलबिजक,विदेशी संस्थाको दर्ता सम्बन्धी नोटरीबाट प्रमाणित कागजात, नेपाली र विदेशी संस्थाबीच भएको सम्झौताको नोटरीबाट प्रमाणित प्रतिलिपि आवश्यक पर्नेछ ।
प्रतिक्रिया