नेपाल राष्ट्र बैंकका कर्मचारीलाई सुविधै- सुविधा, सेवा अवधिभर के-के पाउँछन् ?

२०८२ मंसिर ०३ गते

नेपाल राष्ट्र बैंकका कर्मचारीलाई सुविधै- सुविधा, सेवा अवधिभर के-के पाउँछन् ?

काठमाडौ । आकर्षक तलब र धेरै सेवा सुविधा भएको जागिरको रुपमा नेपाल राष्ट्र बैंकको जागिरलाई लिइन्छ । नेपाल राष्ट्र बैंक देशको केन्द्रिय बैंक हो भने बैंक तथा वित्तिय संस्थाको नियामक पनि हो । यहि क्षेत्रमा प्रवेश गरेर रोजगारी गर्ने अधिकांशको चाहना हुन्छ । 

सरकारले गठन गरेको असमान सेवा सुविधा सम्बन्धि अध्ययन गरेर सुझाव दिन गठन भएको कार्यदलले समेत केन्द्रिय बैंकका कर्मचारीलाई आकर्षक सेवा सुविधा भएको उल्लेख गरेको थियो । 

Advertisement:

Ad
Ad


के के छन त राष्ट्र बैंकका कर्मचारीको सेवा सुविधा ?


नेपाल राष्ट्र बैंकका कर्मचारीले सार्वजनिक बिदा, भैपरी आउने तथा पर्व बिदा, घर बिदा, बिरामी बिदा, किरिया बिदा, अध्ययन बिदा, असाधारण विदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा पाउँछन् । प्रसुति स्याहार विदामा ५ हजार रुपैयाँ शिुशु सयहार खर्च पनि पाउछन् । यस्तै विशेष बिदा (सेवा अवधिभर १ वर्षमा नबढाई ), प्रथम श्रेणी र विशिष्ट श्रेणीका अधिकृतले अवकाश हुनुभन्दा ३० दिन अगाडि अनिवार्य रूपमा बिदा बस्नु पर्नेछ । अनिवार्य भ्रमण विदा  समितिले तोकेबमोजिम दैनिक तथा भ्रमण भत्ता पाउने गरी लगायतका बिदाहरु पाउने व्यवस्था छ । 

बैङ्कका कर्मचारीले निर्धारण गरेबमोजिमको तलब भत्ता पाउने र समितिले प्रत्येक २ वर्षमा तलब पुनरावलोकन गर्ने व्यवस्था छ । कर्मचारीले एक महिनाको तलब भत्ता बराबरको रकम प्रत्येक वर्ष दशैं खर्च पाउने व्यवस्था छ । घर बिदा बापत १२० दिनसम्म सञ्चित राख्न सकिने र सोभन्दा बढी सञ्चित रहेको घर बिदाको खाइपाई आएको तलब भत्ता प्रदान गरिने व्यवस्था छ । एक वर्षमा १५ दिन बिरामी बिदा पाउने, सञ्चित घर बिदा, विशेष बिदा र बिरामी बिदा रकम अवकाश भएपश्चात खाइपाई आएको तलब भत्ताको आधारमा भुक्तानी हुनेछ ।  कार्यालय समय अघि वा पछि काम गरे बापत बैङ्कका कर्मचारीलाई बैङ्कले तोकेबमोजिम सुविधा दिन सकिने व्यवस्था पनि छ ।


कर्मचारीको स्वास्थ्य उपचारको लागि एक औषधि कोष रहनेछ भने उक्त कोषमा कर्मचारीको तह अनुसार वार्षिक तलब रकमको १०.१० देखि १९.४३ प्रतिशतले हुन आउने रकम वार्षिक रुपमा जम्मा गरिने र उक्त कोषबाट आवश्यकता अनुसार कर्मचारी र परिवारको स्वास्थ्य उपचार गर्न सकिने व्यवस्था छ। अवकाश हुँदा यस्तो रकम आखिरी तलबमान अनुसार हुने वार्षिक रकमलाई सेवा अवधि र तोकिएको प्रतिशतले गुणन गरी निर्धारण गरिन्छ र लिएको रकम कट्टा गरेर आउने रकम भुक्तानी दिने व्यवस्था छ ।

अवकाश कर्मचारीलाई प्रत्येक वर्ष औषधी उपचार खर्च 


निवृत्तभरण पाउने गरी अवकाश पाएका कर्मचारीलाई प्रत्येक वर्ष औषधि उपचार बापत समितिले तोके अनुसारको रकम पाउने व्यवस्था छ । कर्मचारीको जीवन वीमा तथा विभिन्न सापटीको वीमा प्रचलित वीमा व्यवस्था अनुरुप हुने, वीमाको बोनस सम्बन्धित कर्मचारीले नै पाउने व्यवस्था रहेको छ ।

 

 बैङ्कका पाँच वर्षदेखि दश वर्षसम्म सेवा अवधि पुगेको कर्मचारीले काम गरेको प्रत्येक वर्षको निमित्त आधा महिना, दश वर्षदेखि पन्ध्र वर्षसम्म सेवा अवधि भएको कर्मचारीले प्रत्येक वर्षको निमित्त एक महिना, पन्ध्र वर्षभन्दा बढी बीस वर्षभन्दा कम सेवा अवधि पुगेको कर्मचारीले प्रत्येक वर्षको निमित्त डेढ महिनाको आखिरी तलबमान अनुसार उपदान पाउने व्यवस्था छ। बीस वर्ष वा सोभन्दा बढी सेवा गरी अवकाश भएका कर्मचारीले जम्मा नोकरी वर्षलाई आखिरी तलबमानले गुणन गरी ५० ले भाग गर्दा हुन आउने रकम बराबरको पेन्सन पाउने व्यवस्था छ । 

निवृत्तभरण पाउने गरी अवकाश भएका कर्मचारीले चाहेमा १० वर्षको पेन्सन एकै पटक लिन सक्ने व्यवस्था रहेको छ । शैक्षिक वृत्ति, कर्मचारी कल्याणकारी सञ्चय कोष र सुरक्षण कोष विनियमावली अनुसार स्थायी कर्मचारी अशक्त भएमा आधा निवृत्तभरण पाउने व्यवस्था छ । 

बैङ्कको कामको सिलसिलामा कर्मचारीको मृत्यू भएमा मृत वा अशक्त कर्मचारीको बढीमा दुई छोराछोरीलाई अठार वर्ष उमेर नपुगेसम्म मासिक एक हजार शैक्षिक वृत्ति, विभिन्न तहका कर्मचारीलाई शुरु तलब स्केलको ७ देखि १६ प्रतिशतसम्म मासिक सन्तति वृत्ति दिने व्यवस्था छ । 

 

बैङ्कमा एक कर्मचारी कल्याणकारी सञ्चय कोष रहने व्यवस्था छ । प्रत्येक कर्मचारीले अघिल्लो आर्थिक वर्ष खाइपाई आएको कुल तलबको १२ प्रतिशतका दरले हुने रकम साउन १ गते कर्मचारी कल्याणकारी सञ्चय कोषमा निजको नाममा जम्मा गरिने व्यवस्था रहेको छ । प्रत्येक वर्ष मुनाफा बाँड फाँट गर्नु अघिको खुद मुनाफाबाट सञ्चालक समितिले छुट्याएको रकम प्रोत्साहन स्वरुप कोषमा जम्मा गरिने व्यवस्था छ । यस्तो रकम अघिल्लो आर्थिक वर्ष छुट्याएको रकमको १० प्रतिशतभन्दा बढी नहुने विनियमावलीमा उल्लेख छ । 

बैङ्कमा एक अवकाश कोष गठन गरिने जसमा सञ्चालक समितिले सञ्चय कोष बापतको रकम र प्रोत्साहन स्वरुप मुनाफाबाट छुट्याइएको रकममध्ये वार्षिक आयको एकतिहाइसम्म जम्मा गरिने सोभन्दा बढी भएको रकम कर्मचारीलाई भुक्तानी गरिने व्यवस्था छ ।

बैङ्कमा कर्मचारी सुरक्षण कोष खडा गरिनेछ । उक्त कोषमा प्रत्येक कर्मचारीको लागि अवकाश प्राप्त गर्दा ५ वर्ष ३ महिनाको तलब बराबरको रकम सुरक्षण अङ्क कायम हुने गरेर भुक्तानी गर्न पुग्ने गरी आवश्यक रकम जम्मा गरिने व्यवस्था छ । विनियमावलीले तोके बाहेकका अन्य सुविधाहरु समितिले तोके अनुसार हुने उल्लेख छ ।


सापटी सुविधा  


 बैङ्कमा कार्यरत स्थायी कर्मचारीहरुलाई समितिले विभिन्न सापटी सुविधा प्रदान गर्ने सक्ने र त्यस्तो सापटीमा लाग्ने व्याजदर तथा चुक्ता गर्ने प्रक्रिया समितिले तोकेबमोजिम हुने व्यवस्था रहेको छ ।

विनियमावली अनुसार कुनै पनि कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलब भत्ता, उपदान, निवृत्तभरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरुमा निजको सहमति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिर्वतन गरिने छैन ।
नेपाल राष्ट्र बैंकको कर्मचारीको सेवा सुविधाका लागि कर्मचारी सेवा सुविधा विनियमावली २०६८ कार्यान्वयनमा छ ।