मौद्रिक नीतिको व्यवस्था  कार्यान्वयनका लागि  राष्ट्र बैंकले जारी गर्यो सर्कुलर, के-के व्यवस्था आए कार्यान्वयनमा ?

२०८२ असार ३२ गते

मौद्रिक नीतिको व्यवस्था  कार्यान्वयनका लागि  राष्ट्र बैंकले जारी गर्यो सर्कुलर, के-के व्यवस्था आए कार्यान्वयनमा ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि सर्कुलर जारी गरेको छ । सबै बैंक तथा वित्तिय संस्थालाई सोही अनुसार कार्यान्वयन गर्न गराउँन केन्द्रिय बैंकले भनेको छ । यो व्यवस्था साउन १ गतेबाट लागु हुनेछ । 

 

Advertisement:

Ad
Ad

अब लगानीकर्ताले सेयर धितो राखेर २५ करोडसम्म ऋण पाउनेछन् भने घर निर्माण व्यवसाय कम्पनीहरु/ परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिनेछ । यसअघि ६० प्रतिशत थियो । त्यस्तै पहिलोपटक ३ करोड रुपैयाँसम्मको घर खरिदगर्दा ८० प्रतिशतसम्म ऋण पाउनेछन् । 


चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र प्रकाशन गर्नु पर्नेछ । यसअघि २१ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था थियो । वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई धितो लिई वा नलिई ३ लाखसम्म र  महिलाहरुको हकमा पाँच लाख रुपैयाँसम्मको कर्जा बैंक तथा वित्तिय संस्थाले दिनुपर्नेछ ।  यसअघि १ लाख ५० हजार रुपैयाँसम्मको सिमा थियो । 


यस्तै  २०८० कात्तिकको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम लगायतका क्षेत्रमा संचालनमा रहेका व्यवसायहरुमा प्रवाहित कर्जा तथा उक्त क्षेत्रमा बसोवास गरिरहेका सर्वसाधारणले लिएको आवासीय घर कर्जालगायत प्रयोजन खुलेका व्यक्तिगत कर्जालाई ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानीे विश्लेषणगरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुलउपर गरी २०८२ असोज मसान्तभित्र पुर्नसंरचना तथा पुर्नतालिकिकरण गर्नुपर्नेछ । 


 ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलतासुविधा दर ६.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर २.७५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ४.५ प्रतिशत कायम गरिएको छ ।