लघुवित्तले कर्जामा लिने ब्याजदरमा राष्ट्र बैंकको कडाई, स्थिर ब्याजदर पनि प्रकाशन गर्नुपर्ने

२०८२ असार २६ गते

लघुवित्तले कर्जामा लिने ब्याजदरमा राष्ट्र बैंकको कडाई, स्थिर ब्याजदर पनि प्रकाशन गर्नुपर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले लघुवित्तले प्रवाह गर्ने कर्जामा कडाई गरेको छ । बिहीबार लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै परिवर्तन हुने ब्याजदरसँगै स्थिर ब्याजदर पनि प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ । लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको परिवर्तनीय ब्याजदरको साथै स्थिर ब्याजदर समेत प्रकाशन गर्नु पर्ने केन्द्रिय बैंकले भनेको छ । 


ग्राहकले कर्जा लिँदा परिवर्तनीय ब्याजदर एवम् स्थिर ब्याजदर  मध्ये कुनै एक किसिमको ब्याजदर कायम हुने गरी कर्जा लिन सक्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था केन्द्रिय बैंकले गरेको छ  । परिवर्तनीय ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गर्न पाईने छैन । स्थिर ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको ब्याजदर कर्जा अवधिभर परिवर्तन गर्न पाईने छैन । 

Advertisement:

Ad
Ad

कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म त्रयमासिक रुपमा परिवर्तन गर्नु पर्नेछ । तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तन भन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न बाधा पर्ने छैन । यसरी व्याजदर घटाउदा वा वृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्नेछ । 

लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी त्रयमासिक रुपमा निर्धारण गर्नु पर्नेछ । यसरी ब्याजदर निर्धारण गर्दा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पछिल्लो तीन महिनाको प्रकाशित औसत आधार दरमा प्रिमियम थप गरी निर्धारण गर्नु पर्नेछ ।  लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गर्दा हुनआउने ब्याजदर र यस बैंकबाट प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भएबमोजिम वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने ब्याजदरमध्ये जुन कम हुन्छ सो दरको सीमा भित्र रही आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्नु पर्नेछ । 
उदाहरणको लागि वाणिज्य बैंकहरुको पछिल्लो प्रकाशित महिनाको औसत आधार दर अर्थात् २०८२ जेठ महिनाको औसत आधार दर ६.०९ प्रतिशत रहेकोमा लघुवित्त वित्तीय संस्थाले ६.०९ प्रतिशतमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने दर १५.०९ प्रतिशत भन्दा बढी हुने गरी कर्जाको ब्याजदर निर्धारण गर्न पाउने छैन ।