२०८२ साउन १३ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले खराब कर्जामा गरिने निगरानीमा लचक नीति लिएको छ । खराब कर्जामा लचकता अपनाउँदै किस्ता नियमित भए तीन महिनामात्रै (९० दिन) निगरानीमा राखेर दोस्रो वर्गमा स्तरोन्नति गर्न पाउने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले सक्रिय कर्जाअन्तर्गत असल कर्जा र सूक्ष्म निगरानीमा रहेका कर्जालाई राख्दै आएका थिए भने निष्क्रिय कर्जाअन्तर्गत कमसल, शंकास्पद र खराब कर्जालाई राख्दै आएका छन् । बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकहरुमा अपेक्षित कर्जा घाटा मूल्यांकनसम्बन्धी गाइडलाइन (एनएफआरएस९, एक्सपेक्टेड क्रेडिट लस रिलेटेड गाइड लाइन) , २०२४ लाई संशोधन गर्दै तेस्रो वर्गमा परेका कर्जालाई दोस्रो वर्गमा स्थानान्तरण गर्ने समय छोट्याएको हो ।
संशोधित गाइडलाइनअनुसार अब बैंकहरुले तेस्रो वर्गमा गणना गरेका कर्जाको किस्ता नियमित भएको खण्डमा त्यस्ता कर्जाको वर्ग स्तरोन्नति गर्न ९० दिन मात्रै निगरानी गरे पुग्ने भएको छ। यसअघि १८० दिनसम्म निगरानीमा राखेर मात्र स्तरोन्नति गर्न सकिने व्यवस्था थियो।
राष्ट्र बैंकले ऋणको किस्ता एक महिनासम्मको भुक्तानी नभएको कर्जालाई पहिलोमा, एक महिनाभन्दा बढी तर तीन महिनासम्म भुक्तानीनभएको कर्जालाई दोस्रो र तीन महिनाभन्दा बढी समयसम्म भुक्तानी नभएको कर्जालाई तेस्रो वर्गमा राखेर वर्गीकरण गरेको छ।
अपेक्षित कर्जा घाटा मूल्यांकनसम्बन्धी गाइडलाइनमा भएको संसोधनले बैंकहरुको खराब कर्जा घट्न मदत पुग्ने देखिन्छ । अहिले बैंकहरुको खराब कर्जा ७ प्रतिशतसम्म पुगेको छ ।
प्रतिक्रिया