२०८१ असार ०६ गते
काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी रहेका जीवी राईको लोकेसन पत्ता लागिसकेको बताएका छन् ।
आज श्री एयरलाइन्सको काठमाण्डौं-भरतपुर परीक्षण उडान कार्यक्रमको समुद्घाटन गर्न चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा सहकारी ठगी प्रकरणका आरोपी जीवी राई मलेसियामा रहेको लोकेसन पत्ता लागि सकेको बताएका छन् ।
गृहमन्त्री लामिछानेले आफूले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको बताउँदै त्यहाँका गृहमन्त्रीले फरार जीवी राईको लोकेसन कन्फर्म गरिसकेको तर्क गरेका छन् । उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘लोकेसन पत्ता लागिसक्यो । उनलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ । त्यहाँको लिगल स्ट्याटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको हो, कोसिस जारी छ ।’
गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेसियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो ।
प्रतिक्रिया