२०८१ कात्तिक १३ गते
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । गत वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पनि लगानीकर्तालाई निराश बनाएको छ । कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभामा पेश गर्ने गरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
यस कम्पनीले आर्थिक वर्ष ०७८/७९ पछि लाभांश वितरण गरेको छैन् । उक्त वर्ष भने कम्पनीले ११ प्रतिशत र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । चालु आर्थिक वर्ष (२०८१/०८२) को पहिलो त्रैमाससम्म आइपुग्दा हिमालयन लघुवित्तले १ करोड ३४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ११४३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा यसले १० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
प्रतिक्रिया