गुराँस लघुवित्तले चौथो त्रैमाससम्म कमायो साढे २ करोडभन्दा बढी नाफा

२०८१ साउन १३ गते

गुराँस लघुवित्तले चौथो त्रैमाससम्म कमायो साढे २ करोडभन्दा बढी नाफा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ५९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत चौथो त्रैमाससम्म कम्पनीको खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १६ लाख ७६ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको खराब कर्जा संकलन ५१ लाख रूपैयाँभन्दा बढी भएकाले खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । सम्भावित जोखिम शिर्षकमा यस वर्ष कम्पनीेले कुनै पनि रकम छुट्याएको छैन । जसका कारण सञ्चालन नाफा अघिल्लो वर्ष २६ लाख रूपैयाँभन्दा बढी भएकोमा गत वर्ष ३ करोड ६० लाख रूपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी १० करोड १४ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम ४ करोड ७१ लाख रूपैयाँभन्दा बढी रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १८ करोड ३६ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३४ करोड ९४ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।

Advertisement:

Ad
Ad

लगानीमा ९० लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीले १ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष ६ दशमलव ३६ प्रतिशत रहेकोमा गत वर्ष घटेर २ दशमलव ४६ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी २५ रूपैयाँ ६१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४६ रूपैयाँ ५२ पैसा छ । कोशी प्रदेश स्तरीय यस कम्पनीले ३४ ओटा शाखा कार्यालयमार्फत २१ हजारभन्दा परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।