२०८२ साउन ०६ गते
काठमाडौ । चेक अनादर बैंकिङ कसुरसम्बन्धी अपराध भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले यस्तो अपराध नगर्न नगराउँन सचेत गराएको छ ।
कुनै पनि भुक्तानीका लागि पर्याप्त रकम नभएको अवस्थामा कसैलाई चेक जारी गरी दिनु हुँदैन । खातामा पैसा नभई दिएको चेक अनादर सम्बन्धी मुद्दा लाग्न सक्छ ।
केन्द्रिय बैंकले एक सुचना जारी गर्दै भनेको छ, 'चेक धारकले भुक्तानी माग्दा खातामा रकम नभएको कारण भुक्तानी नभएमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक जारी गर्ने व्यक्तिलाई आफ्नो खातामा रकम जम्मा गर्न बढिमा पैंतालिस दिनको म्याद दिन सक्नेछ । सो अवधिपश्चात् चेक धारकले सो चेक बमोजिमको भुक्तानी माग गर्दा खातामा रकम नभएमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको व्यहोरा प्रमाणित गरी त्यस्तो चेक धारकलाई फिर्ता गरिदिनु पर्नेछ । यसरी चेक अनादर भएको अवस्थामा चेक जारी गरी दिने खातावालाबाट धारकलाई विगो बमोजिमको रकम तथा सो रकममा चेक जारी भएको मितिदेखि रकम भराएको मितिसम्म प्रचलित कानून बमोजिमको ब्याज समेत भराई चेक जारी गर्ने खातावालालाई विगोको पाँच प्रतिशत जरिवाना र कानूनबमोजिम कैद सजायसमेत हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।'
कुनै पनि व्यक्रिले भुक्तानी दिनुअघि आफ्नो खाताको मौज्दात रकम हेरेर मात्र चेक जारी गनुपर्ने केन्द्रिय बैकले भनेको छ ।
प्रतिक्रिया