ब्याजदर घटेपनि बैंकहरुको खराब कर्जा घट्ने सम्भावना न्यून

२०८० चैत १८ गते

ब्याजदर घटेपनि बैंकहरुको खराब कर्जा घट्ने सम्भावना न्यून

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि बैंकहरुको खराब कर्जामा सुधार नहुने देखिएको छ। बैंकहरुको ब्याजदर निरन्तररुपमा घट्दै गएपनि कर्जा प्रवाह बढेको छैन। जसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन।

अर्थतन्त्रले गति नलिएकाले आगामी त्रैमासमा पनि बैंक खराब कर्जा दोस्रो त्रैमासको तुलना घट्ने अवस्था नरहेको बैंकर्सहरु बताउँछन्। ब्याजदर घटेर एकल अंकतर्फ आएपनि यस अवधिमा कर्जाको माग नआएकाले खराब कर्जा घट्ने सम्भावना न्यून रहेको देखिन्छ ।

Advertisement:

Ad
Ad

चालु आर्थिक वर्षबाट संकुचित भएको आयात अझै पनि ऋणात्मक हुन नसकेको, सरकारको विकास निर्माणको कामले गति लिन नसकेको, ब्याजदर घटेपनि कर्जाको माग नघटेको लगायतका कारणले खराब कर्जामा सुधार हुने सम्भावना कम रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

श्रेष्ठ अर्थतन्त्रमा माग बढ्न नसक्दा कर्जा विस्तार हुन नसकेको बताउँछन् । "अर्थतन्त्रमा आएको संकुचनले कर्जा असुली प्रभावित भएको छ। जसले गर्दा बैंकहरुको खराब कर्जाको ग्राफ बढ्दो छ। आगामी त्रैमासमा पनि यो क्रम रोकिने देखिएको छैन,"उनले भने।

बैंक वित्तीय संस्थाहरुको खराब कर्जा बढेकाले लोनलस प्रोभिजनिङ बढेको हो भने चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ दर्जन वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक छ। यसले बैंकहरुको प्राथमिक पुँजीकोषमा दबाब परेको छ। ३ वाणिज्य बैंकहरुको पुँजीकोष ८.५ प्रतिशतमा झरेको छ।

प्राथमिक पुँजीकोषमा दबाब रहेका बैंकहरुलाई कर्जा प्रवाहमा कठिनाइ भइरहेको छ भने प्राथमिक पुँजीकोष ८.५ प्रतिशतभन्दा तल आएका बैंकहरुको आगामी आर्थिक वर्षको लाभांश रोकिएको छ। अर्कोतर्फ खराब कर्जा बढेकाले बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्दोक्रममा रहेपनि अर्थतन्त्र संकुचित रहेकाले धितो बिक्री भएको छैन।

राष्ट्र बैंकले दिइरहेको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको समस्याले पनि बैंकहरुको खराब कर्जा कम देखिएको हो। गत असार मसान्तसम्ममा कर्जाको १० प्रतिशतसम्म नियमितरुपमा साँवा ब्याज भुक्तानी गरेका ऋणीहरुको कर्जालाई राष्ट्र बैंकले पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा दिएकाले पनि बैंकहरुको खराब कर्जा कम देखिएको हो।

अर्थतन्त्रमा संकुचित भएकाले कतिपय उक्त सुविधासमेत उपयोग गर्न नआएको अर्का एक बैंकरले बताए। जसले गर्दा आगामी त्रैमासमा खराब कर्जा थप बढ्ने उनले बताए।

अर्थतन्त्रको गति धिमा रहेको भन्दै कर्जाको पुर्नतालिकीकरण तथा पुनर्संरचनाका लागि ऋणीले माग नै गरेका छैनन् । आगामी क्वाटरमा पनि बैंकहरुको खराब कर्जामा सुधार होला जस्तो देखिँदैन। ब्याजदर घटेपनि कर्जा बढ्न सकेको छैन। कर्जा नबढेकाले अर्थतन्त्रले गति लिएन। यसले कर्जा असुली पनि प्रभावित बनाइरहेको छु, ती बैंकरले बताए।

दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.६३ रहेको छ। उक्त त्रैमासमा नेपाल बैंक लिमिटेडको ४.५० प्रतिशत, प्रभु बैंकको ४.९० प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.६८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.६७ प्रतिशत र सिटिजन्स बैंक र प्राइम कमर्सियल बैंकको ४.०७ प्रतिशत रहेको थियो।