२०८१ साउन ०९ गते
काठमाडौं । प्रस्तावित बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) का केही नीतिगत प्रावधानहरुले बैंकिङ्ग लगानीकर्तामा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारी पलायन हुने क्रम बढेको बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले बताएको छ ।
बुधबार सिबिफिनको टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गर्ने क्रममा सो विषय उठाएको हो ।
जवाफमा उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधानहरु सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने बताएका छन् ।
उनले सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीहरुको समाधान र अपेक्षाहरुको सम्बोधन लागि सरकारले आवश्यक पहलकदमी लिने बताए ।
सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको बताए ।
प्रतिक्रिया