बैंकका कर्मचारीमाथि भएको भौतिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध छ: अर्थमन्त्री

२०८१ साउन ०२ गते

बैंकका कर्मचारीमाथि भएको भौतिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध छ: अर्थमन्त्री

काठमाडौँ । लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउन बैंकरहरूले अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेका छन् । नेपाल बैंकर्स संघका पदाधिकारीले अर्थमन्त्री पौडेलसँगको भेटमा मंगलबार यस्तो आग्रह गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्ष्यमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रूपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्‍यो,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने ।

Advertisement:

Ad
Ad

संघका अध्यक्ष केसीले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जालगायत विषयमा अर्थमन्त्रीलाई जानकारी अवगत गराएका थिए ।

बैकर्सहरूसँगको भेटमा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै अग्रसर हुनु पर्ने बताए ।

‘मुख्यतः वर्तमान अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा आम मानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउने तर्फ सबै सरोकारवाला गम्भिर भएर लाग्नु पर्ने देखिन्छ,’ उनले भने, ‘सरकार सबैको अभिभावक भएका कारण सबैको समस्यालाई आत्म साथ गर्दै समस्या समाधानका लागि अग्रसर रहेको छ ।’ बैंकका कर्मचारीमाथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।