बैंकहरुको कमाई लेखाजोखा : १४ बैंकको नाफा बढ्दा ६ बैंकको घट्यो, नाफा धेरै बढाउनेमा नेपाल एसबीआइ बैंक

२०८१ कात्तिक ०४ गते

बैंकहरुको कमाई लेखाजोखा : १४ बैंकको नाफा बढ्दा ६ बैंकको घट्यो, नाफा धेरै बढाउनेमा नेपाल एसबीआइ बैंक

काठमाडौं । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आवको २ महिनामा समग्रमा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४ बैंकको नाफा बढ्दा ६ बैंकको घटेको छ । सबैभन्दा धेरै नेपाल एसबीआइ बैंकको नाफा बढेको छ भने एनआइसी एसियाको नाफा सबैभन्दा धेरै घटेको छ ।

गत आवको भदौ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुको नाफा ६.३० प्रतिशतले बढेको छ । गत आवको भदौ मसान्तसम्म बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका थिए । चालु आवको २ महिना अर्थात भदौ सम्ममा १७ अर्ब ६९ करोड २१ लाख १० हजार रुपैयाँ नाफा कमाएका छन् ।

Advertisement:

Ad
Ad

यस अवधिमा नेपाल एसबीआइ बैंकले सबैभन्दा धेरै नाफा बढाएको छ । समीक्षा अवधिमा बैंकको नाफा ९५.६० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो २ महिनामा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ ।

धेरै नाफा बढाउनेको दोस्रो नम्बरमा कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकको नाफा ४४.१० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको भदौसम्म ६१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्म ८८ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रोमा धेरै नाफा बढाउनेमा प्रभु बैंक रहेको छ । प्रभुको नाफा ३७.५० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको भदौसम्म ६६ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्म ९१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, सानिमा बैंकले ३४.६० प्रतिशत, सिटिजन्स बैंकले ३३.१० प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकले २५.१० प्रतिशत, प्राइम बैंकले १६.५० प्रतिशत, एभरेष्ट बैंकले १५.९० प्रतिशतले नाफा बढाएका छन् । सबैभन्दा कम नाफा राष्ट्रिय वाणिज्य बैंकको बढेको छ । यो बैंकको नाफा १.१० प्रतिशतले मात्र बढेको छ ।

२० वाणिज्य बैंकमा १४ बैंकको नाफा बढ्दा ६ वटा बैंकको नाफा घटेको छ । सबैभन्दा धेरै एनआइसी एशिया बैंकको नाफा २७.९० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौसम्म ८० करोड ५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्म ५७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, दोस्रो धेरै नाफा घट्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको नाफा १०.८० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौसम्म १ अर्ब ७५ करोड ५८ लाख कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्म १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, समीक्षा अवधिमा कुमारीको बैंकको नाफा ५.३० प्रतिशत, हिमालयन बैंकको ५.२० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ प्रतिशत तथा नेपाल बैंकको ४.१० प्रतिशतले नाफा घटेको छ । धेरै नाफा कमाउनेमा नबिल, माछापुच्छ्रे बैंकको सबैभन्दा कम  ३९ करोड २४ लाख कमाएको छ ।