२०८१ असोज ०९ गते
काठमाडौ । पछिल्लो समय सुनको मूल्यले दिनहु जसो ऐतिहासिक रेकर्ड बनाउँदै आएको छ । मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन महंगिएसँगै सुन तथा चाँदी धितो राखेर कर्जा लिनेहरु पनि बढ्न थालेका छन् । चालु आर्थिक वर्षको (२०८१/०८२) साउनसम्ममा सुन चाँदी धितोमा ६० अर्ब २१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत महिनासम्म ५८ अर्ब ४८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यस आधारमा हेर्दा एक महिनामै करिव पौने २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामा सुन चाँदी धितो राखेर १ अर्ब ७२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७९/८० मा ५५ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । आव ०७८/०७९ मा ५२ अर्ब ७८ करोड १० लाख रुपैयाँ भएको थियो भने ०७७/०७८ मा ४३ अर्ब ११ करोड १० लाख रुपैयाँ सुनचाँदी धितोको कर्जा प्रवाह भएको थियो ।
गत एक वर्ष भरिमा जम्मा २ अर्ब ९५ करोड ५० लाख रुपैयाँ बराबरको सुन धितोको कर्जा प्रवाह भएको थियो । तर यो (२०८१/०८२) एक (साउन) महिनामै करिब २ अर्ब सुन चाँदी धितोको कर्जा प्रवाह भएको छ ।बैंकहरुले सुन चाँदी धितोमा कर्जा प्रवाह गर्दा सुन चाँदीको प्रचलित मुल्यलाई आधार मान्ने गरेका छन् । यसकारण सुन चाँदीको मूल्य जति बढ्यो बैंकहरुले गर्ने मूल्यांकन पनि बढी भएपछि कर्जा प्रवाह बढ्ने बैंकर्सहरु बताउँछन् ।
सुनचाँदी धितोमा सरकारी बैंकको विश्वास बढी
सुन चाँदी धितोलाई सबैभन्दा बढी विश्वास सरकारी बैंक नेपाल बैंकले गरेको देखिन्छ । यसैकारण उक्त धितोमा नेपाल बैंकले सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् । दोस्रो पनि सरकारी स्तरकै राष्ट्रिय बाणिज्य बैंैकलै रहेको छ । तर कृषि विकास बैंकले भने अत्यन्त न्युन रकम सुनचाँदी धितोमा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको साउनसम्ममा नेपाल बैंकले २३ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।शेयर बजारमा केही समय अघि एकाएक बढेको उचाईका कारण लगानीकर्ताहरु आफूसँग भएको सुन धितो राखेर लगानी गर्न उक्त बैंकहरुमा पुगेका हुन् । तुलनात्मक रुपमा कम भ,न्झटिलो र कम ब्याजदरमा ऋण रकम पाइने सुन धितो कर्जा लिनेको संख्या बढेको हो ।
यस्तै प्राइम कमर्सियल बैंकले ६ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सिटिजन्स बैंकले ७० करोड रुपैयाँ बराबर कर्जा प्रवाह गरेको छ । नबिलले ५१ करोड ५० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८१ करोड ८० लाख रुपैयाँ कर्जा सुनचाँदी धितोमा प्रवाह गरेको छ । एनआइशी एशियाले ३ करोड २० लाख, माछापुछ्रे्रे बैंकले १२ करोड ९० लाख, कुमारी बैंकले २० लाख, लक्ष्मी सनराइजले ६ करोड ८६ लाख, सिद्धार्थ बैंकले १ करोड २० लाख रुपैयाँ कर्जा सुनचाँदी धितोमा प्रवाह गरेको छ । कृषि विकास बैंकले १ करोड ८० लाख कर्जा प्रवाह गर्दा एनएमबीले ६९ हजार रुपैयाँ मात्र सुनचाँदी धितोमा कर्जा प्रवाह गरेको छ । प्रभुले ७ करोड ९० लाख र सानिमाले ८५ हजार रुपैयाँमात्र सुनचाँदी धितोको कर्जा प्रवाह गरेको छ ।
सुनचाँदी धितोलाई ५ वटा बैंकले गरेनन विश्वास
सुनचाँदी धितो राखेर हालसम्म कुनै पनि कर्जा प्रवाह ५ वटा वाणिज्य बैंकले गरेका छैनन ।स्ट्याण्डर्ड चार्टड बैंक, हिमालयन बैंक, नेपाल एसबिआइ बैंक र एभरेष्ट बैंकले भने सुनचाँदी धितोमा हालसम्म कुनै पनि कर्जा प्रवाह गरेका छैनन । यस्तै ग्लोबल आइएमइ बैंकले पनि सुनचाँदी धितोमा कर्जा प्रवाह गरेको छैन ।
पछिल्लो समय ऋणको ब्याजदर सस्तो हुदै गएको छ । सस्तो ब्याजदरमा ऋण पाउने भएपछि महंगिएको सुन चाँदीलाई नै धितो राखेर ऋण लिनेहरु बढेको केन्द्रिय बैंकले जनाएको छ । विश्व बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेकाले पनि सुनचाँदीमा लगानी खेर नजाने र कर्जा पनि सुरक्षित हुने विश्वास बैंकहरूको छ । घरजग्गा जस्तै सुनचाँदी धितो पनि पछिल्लो समय भरपर्दो धितोको रुपमा पर्दै आएको छ ।
प्रतिक्रिया