३०८ प्रतिशतले नाफा बढाएको कुमारीको सेयरधनीको प्रतिसेयर आम्दानी कति पुग्यो ?

२०८१ कात्तिक ०८ गते

३०८ प्रतिशतले नाफा बढाएको कुमारीको सेयरधनीको प्रतिसेयर आम्दानी कति पुग्यो ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३०८.५० प्रतिशतले नाफा बढाएको छ । साउन देखि असोज मसान्तसम्म बैंकले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत वर्षको यसै अवधिको तुलनामा ३०८.५० प्रतिशतले बढी हो । गत वर्ष कुमारीले २६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । कर्जाको ब्याजदर घट्दा बैंकको ब्याज आम्दानीमा पनि गिरावट आएको छ । पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ७.७५ प्रतिशतले घटेर २ अर्ब ८० करोड ६२ लाख कायम भएको छ । गत वर्ष ब्याज आम्दानी ३ अर्ब ४ करोड थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १८ करोडबाट घटेर ६३ करोड ६ लाख रुपैयाँ कायम भएको छ । चार्ज घट्दा नाफामा सुधार आएको हो । यता, सञ्चालन नाफा २५४ प्रतिशत बढेको छ । बैंकको जगेडा कोषमा १५ अर्ब ४५ करोड रुपैयाँ जम्मा रहेको छ । कुमारी बैंकको सेयर हुने लगानीकर्ताको प्रतिसेयर आम्दानी भने बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १६.४४ रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ । चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २२ पैसा रहेको छ । बैंकको लागत पनि घटेर ६.७६ प्रतिशतमा झरेको छ । गत वर्ष यसै अवधिमा ८.५८ प्रतिशत थियो खराब कर्जा भने बढेर ४.९६ प्रतिशत रहेको छ । ।

Advertisement:

Ad
Ad